काठमाडौं । फिफा विश्वकपको अन्तिम ३२ चरणबाट बाहिरिएपछि सेनेगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पाप थियाउलाई बर्खास्त गरेको छ ।
डिसेम्बर २०२४ देखि टोलीको जिम्मेवारी सम्हाल्दै आएका थियाउको नेतृत्वमा सेनेगलले समूह चरणका पहिलो दुई खेलमा फ्रान्स र नर्वेसँग पराजय बेहोरेको थियो । त्यसपछि इराकलाई ५-० ले हराउँदै समूहका उत्कृष्ट तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा नकआउट चरणमा पुगेको थियो ।
अन्तिम ३२ को खेलमा सेनेगलले बेल्जियमविरुद्ध २-० को अग्रता बनाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल खायो । अतिरिक्त समयमा पेनाल्टीमार्फत अर्को गोल खाएपछि सेनेगल ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
विश्वकपबाट बाहिरिएपछि टोलीका मिडफिल्डर पाप गुएयेले वर्तमान प्रशिक्षक समूह कायम रहेसम्म राष्ट्रिय टोलीबाट केही समय विश्राम लिने बताएका थिए ।
सेनेगल फुटबल महासंघले टोलीको नतिजा र भविष्यको सम्भावनाको विस्तृत समीक्षा गरेपछि सेनेगाली फुटबलको हितलाई ध्यानमा राख्दै थियाउलाई पदमुक्त गरिएको जनाएको छ ।
विश्वकपअघि पनि थियाउ विवादमा तानिएका थिए । सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा मोरक्कोलाई इन्जुरी समयमा पेनाल्टी दिइएपछि उनले टोलीलाई मैदानबाट बाहिर लगेका थिए । करिब १७ मिनेटपछि खेल पुनः सुरु भएको थियो । त्यसक्रममा मोरक्कोको पेनाल्टी असफल भएको र अतिरिक्त समयमा गुएयेले निर्णायक गोल गरेका थिए ।
तर अफ्रिकी फुटबल महासंघले पछि उक्त घटनाको समीक्षा गर्दै फाइनलको नतिजा उल्ट्याएर मोरक्कोलाई प्रतियोगिताको विजेता घोषणा गरेको थियो । त्यसविरुद्ध सेनेगलले खेलसम्बन्धी अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा पुनरावेदन दर्ता गरेको छ र उपाधि पुनः प्राप्त गर्ने आशा राखेको छ ।