काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेको देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
निर्यात गन्तव्यका आधारमा भारततर्फ १३.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.२ प्रतिशतले वृद्धि भएको छ। तर चीनतर्फको निर्यात भने ३५.८ प्रतिशतले घटेको छ। वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैँची, चाउचाउ र ब्रानजस्ता वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा र हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको छ।
यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत तथा अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
आयाततर्फ पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्ट्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढेको छ। विपरीत, खाने तेल, हट रोल्ड स्टिल, लसुन, एमएस तार, छड, बार, क्वाइल तथा एमएस बिलेटको आयातमा गिरावट आएको छ।
आयात उच्च दरमा बढेसँगै नेपालको व्यापार घाटा पनि थप विस्तार भएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापार घाटा १५.७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १५.१ प्रतिशतभन्दा कम हो।
यसैबीच, भारतबाट परिवर्त्य विदेशी मुद्रामा गरिएको वस्तु आयात पनि बढेको छ। समीक्षा अवधिमा यस्तो आयात १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँभन्दा बढी हो।