काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पारवहन असहजताका कारण मल आपूर्तिमा ठूलो चुनौती थपिएको बताएकी छन् ।
शुक्रबार संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले अग्रिम आयकर (टीडीएस), दोहोरो कर मुक्ति सम्झौताको अभाव र बन्दरगाहको सीमितताले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू नेपालमा आकर्षित हुन नसकेको उल्लेख गरिन् ।
“पाँच प्रतिशत अग्रिम टीडीएसको व्यवस्था र नेपालले धेरै देशहरूसँग ‘दोहोरो कर मुक्ति सम्झौता’ नगरेका कारण विदेशी कम्पनीहरूले नेपालमा मल निर्यात गर्न अनिच्छा देखाउने गरेका छन्,“ उनले भनिन् । भारतसँग सम्झौता भए पनि त्यहाँबाट हुने आपूर्तिमा कर समायोजनको प्रक्रिया निकै जटिल रहेको उनको भनाइ छ ।
अन्य मुलुकका आपूर्तिकर्ताहरूले भने शतप्रतिशत भुक्तानी फिर्ताको माग राख्ने गरेका कारण विश्वव्यापी टेन्डरमा धेरै पक्ष सहभागी हुन छाडेका छन् ।
नेपालको वैदेशिक व्यापार हाल वीरगञ्ज बन्दरगाहमा मात्र केन्द्रित रहेको उनको भनाइ छ । वैकल्पिक बन्दरगाहहरूको प्रयोग प्रभावकारी हुन नसकेको विषयमा पनि श्रेष्ठले ध्यानाकर्षण गराइन् ।
नेपाल–भारत व्यापार तथा पारवहन सन्धिमा वैकल्पिक मार्गहरूको व्यवस्था भए पनि कार्यान्वयनमा नआउँदा लागत बढेको उनको तर्क छ । रेल्वे सेवा वीरगञ्जसम्म मात्र सीमित भएको भन्दै भैरहवा, नेपालगञ्ज वा धनगढीसम्म रेल्वे विस्तार नभएसम्म ढुवानी लागत कम गर्न र आपूर्ति सहज बनाउन कठिन रहेको बताइन् । सरकारले यी नाकाहरूलाई पुन: सक्रिय बनाउन आवश्यक रहेको उनले औँल्याइन् ।