काठमाडौं । लगातार वर्षा र बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा रातिको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको जनाएको हो ।
कार्यालयका अनुसार धादिङसहित छिमेकी जिल्लाहरू र चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको तथा आगामी केही समय वर्षा अझै बढ्ने मौसम पूर्वानुमान रहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना र बाढी–पहिरोको जोखिम उच्च रहने भएकाले यस्तो निर्णय गरिएको हो ।
प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई उक्त निर्णयको पालना गर्न, यात्रा अघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा अर्को सूचना जारी नभएसम्म रातिको यात्रा नगर्न आग्रह गरेको छ ।