काठमाडौं । १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब (अन्डा) झिकिएको भनिएको प्रकरणमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आईभीएफ चिकित्सक डा. नुतन शर्मा र पक्राउ परेकी युवती राधिका गोतामेबीच आर्थिक कारोबार भएको प्रमाण भेटिएको छ ।
ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेवामा कार्यरत डा. शर्माले डिम्ब तस्करी प्रकरणमा जोडिएकी २१ वर्षीया राधिका गोतामेलाई पटक–पटक रकम पठाएको देखिएको हो । लमजुङ घर भई ललितपुर बस्दै आएकी गोतामे अहिले डिम्ब तस्करीमा बिचौलियाको भूमिका खेलेको आरोपमा प्रहरी हिरासतमा छिन् ।
प्रहरी हिरासतमा रहेकी गोतामेको मोबाइलबाट डा. शर्माले रकम पठाएको विवरणसहितका स्क्रिनसट फेला परेको बताइएको छ । प्राप्त विवरणअनुसार २०२५ डिसेम्बर २१ मा डा. शर्माले गोतामेको खातामा ५० हजार रुपैयाँ पठाएकी थिइन् । त्यसको भोलिपल्ट पनि उनले थप ५० हजार रुपैयाँ पठाएको देखिएको छ । दुवै रकम मोबाइल बैंकिङमार्फत पठाइएको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गोतामेले डिम्ब संकलनका लागि युवतीहरूलाई डा. शर्मासम्म पुर्याउने र त्यसबापत रकम लिने गरेको हुनसक्ने देखिएको छ । पछिल्लो घटनामा पनि डा. शर्माबाट गोतामेलाई ५० हजार रुपैयाँ पुगेको तर पीडित किशोरीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्र दिएको प्रहरी स्रोतको दाबी छ ।
आर्थिक प्रलोभनमा पारेर आफूलाई डिम्ब झिक्न लगाइएको भन्दै १७ वर्षीया किशोरीले डा. नुतन शर्मासहितका व्यक्तिविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन् । तर जाहेरीमा नाम जोडिएकी डा. शर्मा भने अहिलेसम्म पक्राउ परेकी छैनन् । प्रहरी स्रोतका अनुसार उनी हाल फिलिपिन्समा रहेको बताइएको छ ।
पीडित परिवारका अनुसार राधिका गोतामेलाई बीएन्डबी अस्पतालबाट पक्राउ गर्दा डा. शर्मा पनि अस्पतालमै थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएको परिवारको दाबी छ ।
पीडित किशोरीलाई सुरुमा उनकी साथीले डिम्ब झिक्दा कुनै गम्भीर समस्या नहुने भन्दै आर्थिक प्रलोभन देखाएको बताइएको छ । साथीले आफूले पनि दुई–तीन पटक डिम्ब दिएको र त्यसबाट पैसा आउने भन्दै किशोरीलाई तयार पारेको पीडितको भनाइ छ ।
त्यसपछि ती किशोरीलाई राधिका गोतामेको सम्पर्कमा पुर्याइएको र गोतामेले उनलाई डा. नुतन शर्मासम्म पुर्याएको बताइएको छ । पीडितका अनुसार सुरुमा उनलाई एउटा इन्जेक्सन लगाइएको थियो । त्यसको करिब एक सातादेखि १० दिनपछि डिम्ब निकालिएको थियो ।
डिम्ब निकालेपछि स्वास्थ्यमा समस्या देखिएपछि किशोरीले घटनाबारे परिवारलाई जानकारी गराएकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मात्रै परिवारले घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दिइएको हो ।
पीडित परिवारले घटनामा संलग्न मुख्य व्यक्तिहरूमाथि समेत तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरूले बिचौलियाको भूमिका खेलेकी भनिएकी गोतामे पक्राउ परे पनि डिम्ब निकाल्ने चिकित्सक र किशोरीलाई प्रलोभनमा पार्ने साथीलाई पक्राउ नगरिएको भन्दै प्रश्न उठाएका छन् ।
यता जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले पीडितले बीएन्डबी अस्पतालमा लगेर डिम्ब निकालिएको बयान दिएको र घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरी अनुसन्धान अघि बढाइएको बताएको छ । अनुसन्धानका क्रममा संलग्नता पुष्टि हुने जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा डा. नुतन शर्माको नामसमेत जोडिएको छ । तर उनी देशबाहिर रहेको कारण अनुसन्धान प्रक्रियामा केही समस्या भएको प्रहरीको दाबी छ ।
डा. शर्मा यसअघि पनि लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा नेपाल मेडिकल काउन्सिलको कारबाहीमा परेकी थिइन् । काउन्सिलले उनको चिकित्सकीय इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरेको थियो । उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।
निःसन्तान दम्पतीको उपचारमा अन्य महिलाबाट संकलन गरिएको डिम्बलाई आईभीएफ प्रविधिमार्फत भ्रूण विकासका लागि प्रयोग गर्ने गरिन्छ । तर डिम्बको अवैध संकलन तथा कारोबारसम्बन्धी घटना सार्वजनिक भएपछि सरकारले यस क्षेत्रमा नियमन कडा बनाएको छ ।
यस अघि पनि डिम्ब तस्करीको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न व्यक्तिमाथि अनुसन्धान गरेको थियो । बबरमहलस्थित होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमार्फत डिम्बको अवैध कारोबार भएको आरोपमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा किशोरी तथा युवतीलाई ८ देखि १० हजार रुपैयाँसम्म दिएर डिम्ब संकलन गर्ने र त्यसलाई ठूलो रकममा बिक्री गर्ने गरेको खुलेको दाबी गरिएको थियो । सीआईबीले अनुसन्धान पूरा गरी बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गरे पनि तत्कालीन महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने निर्णय भएको थियो ।
यसबीच सरकारले निःसन्तान उपचार तथा आईभीएफ सेवालाई व्यवस्थित र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ समेत जारी गरिसकेको छ ।
नयाँ मापदण्डअनुसार डिम्बदान निश्चित सीमा, गोपनीयता र स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्रै गर्नुपर्ने व्यवस्था छ । एक महिलाले जीवनमा बढीमा ६ पटकसम्म मात्र डिम्बदान गर्न पाउने, प्रत्येक दानबीच कम्तीमा तीन महिनाको अन्तर हुनुपर्ने र डोनरको उमेर २० देखि ३५ वर्षबीच हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, डिम्बदानअघि शारीरिक तथा प्रयोगशाला परीक्षण गरी सरुवा रोग नभएको सुनिश्चित गर्नुपर्ने, सम्भावित स्वास्थ्य जोखिमबारे डोनरलाई जानकारी गराउनुपर्ने र सुसूचित मञ्जुरी अनिवार्य लिनुपर्ने व्यवस्था छ ।
तर पछिल्लो घटनामा १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको आरोप लागेको छ । यदि अनुसन्धानबाट आरोप पुष्टि भएमा यो घटना सरकारले तोकेको डिम्बदानसम्बन्धी मापदण्ड र विद्यमान कानुनी व्यवस्थाको गम्भीर उल्लंघन भएको देखिनेछ ।