काठमाडौं । मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा मोरक्कन संस्कृति, कला र पर्यटन प्रवद्र्धनसम्बन्धी विशेष प्रदर्शनी आयोजना हुने भएको छ।
पालका लागि मोरक्को अधिराज्यको अवैतनिक वाणिज्य दूतावासको आयोजनामा हुने प्रदर्शनीमा सर्वसाधारणका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।
ललितपुरस्थित द प्लाजामा अगस्ट २ (शनिबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा मोरक्कन परिकार, सांगीतिक प्रस्तुति, परम्परागत माटाका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहने आयोजकले जनाएको छ।
प्रदर्शनीको उद्देश्य मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउनुका साथै नेपाल र मोरक्कोबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको जनाइएको छ।
मोरक्कोका लागि अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको यो प्रदर्शनीले नेपाल–मोरक्को सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
उनका अनुसार प्रदर्शनी मोरक्कोको कला, संस्कृति र पर्यटनको परिचय गराउने माध्यम मात्र नभई दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउने अवसर पनि हुनेछ।