काठमाडाैं । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको स्पष्ट पार्दै साउन १६ गते (शनिबार) देखि टेकुस्थित आफ्नै कार्यालय परिसरबाट ग्यास बिक्री वितरण सुरु गरेको छ।
बजारमा ग्यास अभाव भएको हल्ला र उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै निगमले थप बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो।
टेकु परिसरबाट बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू सम्बन्धित उद्योगमार्फत बिक्री गरिने निगमले जनाएको छ।
निगमले सम्पूर्ण ग्यास उद्योगी तथा विक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गर्न निर्देशन दिएको छ।
साथै, बिक्री प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन विक्रेताहरूले खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अनिवार्य रेकर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ। बजारमा ग्यास नपाएमा उपभोक्ताले निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्।
हाल एलपी ग्यासको आयात तथा वितरण नियमित भइरहेकाले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आयल निगमले अनुरोध गरेको छ।
यसअघि पनि बजारमा ग्यासको समस्या देखिँदा निगमले गत माघ २८ गतेदेखि टेकुबाट ग्यास बिक्री गरेको थियो।
पछि पश्चिम एसियाली द्वन्द्वका कारण आपूर्ति प्रभावित हुँदा आधा सिलिन्डर ग्यास बिक्री सुरु गरेपछि बजार सहज भई टेकुबाट बिक्री स्थगन गरिएको थियो।