काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले शेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ १४ गते पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको अनामनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयको सभाहलमा बिहान साढे ११ बजे बस्नेछ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जनाएको छ ।
यसैगरी, कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड १६ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर सर्वसाधारणमा निष्कासन गर्ने सम्बन्धमा यसअघि पेश गरिएको विवरणपत्रलगायत विषयमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिनेछ ।