काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपोको हट केकमा केही प्रिमियम गाडीहरू परेका छन् ।
खासगरी करोड रुपैयाँमाथिका प्रिमियम लग्जरी गाडीहरूमा बीवाईडीको डेन्जा, एमजीको मजेस्टर, महिन्द्राको एक्सईभी नाइन एस, बीएआईसी, टोयोटाको र्याभफोर, हुण्डाई आयोनिक ९ विशेष नाइमा अटो शोको आकर्षकको साधनहरू बनेका छन् ।
यसै भिडमा बीवाईडीले हालै ल्याएको प्रिमियम ब्रान्ड डेन्जाले अटो शोमा शोभा नै बढाइरहेको छ । नेपालका लागि साइमेक्स इंकले अटो शोकै अवसर पारेर प्रिमियम ब्रान्ड डेन्जाका दुईवटा मोडल नेपाल भित्र्याएको छ । डेन्जा बी ८ र डेन्जा बी ५ दुईवटा मोडल ल्याएको कम्पनीले अटो शोमा भने डेन्जा बी ५ प्रर्दशन गरिरहेको छ ।
अटो शोको मुख्य आकर्षण बनिरहेको यो प्रिमियम ब्रान्डको बजार मूल्य २ करोड ९७ लाख रुपैयाँ रहेको छ । तथापि, कम्पनीले अटो शोमा नराखेको डेन्जा बी ८ को मूल्य भने ३ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
गाडीको विशेषता
डेन्जा बी ५ मा १४९७ सीसीको उच्च क्षमताको टर्बो इन्जिन प्रयोग गरिएको छ, जुन इन्जिनले अधिकतम १८१ एचपी पावर प्रदान गर्छ भने इन्जिनको पीकटर्क २६० न्युटन मिटर रहेको कम्पनीको दाबी छ ।
डेन्जा बी ५ ईएचएस इलेक्ट्रीक हाइब्रिड गाडी हो, जसका लागि कम्पनीले ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रदान गरेको छ भने ८३ लिटर क्षमको इन्धन ट्याङ्की उपलब्ध छ ।
एकपटकको फुल ट्याङ्की गरिएको इन्धन र फुल चार्ज ब्याट्रीले ८५० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । ईभी मोडमा मात्रै ९० किलोमिटर हाराहारी चलाउन सकिन्छ । अल ह्वील ड्राइभ सिस्टममा पलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २२५ किलोवाटको मोटर दिइएको छ ।