काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा इम्पेरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले नाफा बढाउन मुख्य योगदान गरेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी ८.३४ प्रतिशतले वृद्धि भएको छ। बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशत तथा सञ्चालन मुनाफा ६४.२६ प्रतिशतले बढेको छ।
यसैगरी, बैंकको इम्पेरमेन्ट चार्जमा भने उल्लेख्य कमी आएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २३ करोड ४४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर ८४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।
इम्पेरमेन्ट चार्जमा आएको यही कमीले सञ्चालन मुनाफा र खुद नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको हो। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ। समीक्षा अवधिमा ईपीएस अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँले बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ।
१५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकको निक्षेप ३७.११ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १३.६० प्रतिशतले वृद्धि भएको छ। बैंकको गत आर्थिक वर्षको वित्तीय प्रदर्शनमा मुख्यत: ब्याज आम्दानीमा वृद्धि, सञ्चालन आम्दानीमा सुधार तथा इम्पेरमेन्ट चार्जमा आएको ठूलो कमीले सकारात्मक प्रभाव पारेको देखिन्छ।