काठमाडौं । झण्डै साढे पाँच महिनापछि विदेशबाट नेपाल फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्धका मुद्दा र अनुसन्धानबाट नडराउने संकेत गरेका छन्।
काठमाडौंको चुन्देवीस्थित कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा बिहीबार संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा समेत मुद्दा खेपेर अदालतबाट सफाइ पाएको स्मरण गरे।
देउवाले आफूले लामो समयदेखि विभिन्न मुद्दा खेप्दै आएको उल्लेख गर्दै शाही शासनकालमा शाही आयोगले समेत आफूलाई मुद्दा लगाएर थुनेको बताए। सर्वोच्च अदालतको फैसलाबाट आफूले मुद्दा जितेको उनको भनाइ थियो।
‘ऐतिहासिक कालखण्डदेखि नै मुद्दा खेपेको व्यक्ति हुँ म। हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो। सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो,’ देउवाले भने।
उनले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना हुनु कुनै एक व्यक्तिको प्रयासबाट नभएको पनि बताए। नेपाली जनताको आन्दोलनबाट गणतन्त्र आएको उल्लेख गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई रोक्न नसकेको प्रसंग जोडेर चुनौतीपूर्ण शैलीमा प्रश्न गरे।
‘शाही शासन अन्त्य गरेर गणतन्त्र ल्याउन मैले चाहेर मात्रै हुने थिएन, मैले गर्न सक्ने थिएन। नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो। राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ रु’ देउवाले भने।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवाको बूढानीलकण्ठस्थित घरमा आगजनी गरेका थिए। सो क्रममा देउवा र उनकी पत्नी आरजुमाथि समेत कुटपिट भएको थियो। त्यसपछि उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेका थिए।
यसैबीच, देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढिरहेको छ। उनीहरूविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गर्न प्रहरीले प्रयास गरे पनि इन्टरपोलले त्यसलाई स्वीकार नगरेको बताइएको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी नेतृत्व गगन थापाको हातमा पुगेको र देउवाविरुद्धका अदालती मुद्दा पुन: चर्चामा आएका बेला उनी नेपाल फर्किएका हुन्।