काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब २० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको खुद नाफा ९४ करोड १४ लाख रुपैयाँ रहेको थियो। बिक्री आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बिक्री आम्दानी १७.८८ प्रतिशतले बढेको छ। बिक्री बढेसँगै कम्पनीको कुल नाफा ४३.२५ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा ३१.९५ प्रतिशतले बढेको छ।
नाफामा सुधार भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ८ पैसा बढेर समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा पुगेको छ।
असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.८५ गुणा रहेको छ।
हिमालयन डिस्टिलरीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ। कम्पनीको अन्य इक्विटी १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।