काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ।
हाल काठमाडौं उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ।
’काठमाडौं उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ’, निगमका निर्देशक विनितमणि उपाध्यायले भने।
निगमका अनुसार आज भदौ २ गते मात्रै काठमाडौं उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गर्दैछन्। साथै भदौ १ गते काठमाडौं उपत्यकामा ५२ हजार ५७६ थान सिलिण्डर बिक्री गरिएको छ। जुन दैनिक औसतभन्दा करिब १५ हजारले बढी हो।
निगमले पछिल्लो एक साताअर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बिक्री भइरहेको जनाएको छ। यो औसतमा दैनिक ४४ हजारभन्दा बढी हो।
उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिण्डर बिक्री सुरु गरेको थियो। त्यसको असर अहिले देखिएको मात्रै हो। तर यो लामो समयसम्म जाँदैन।
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री गर्न थालेपछि धेरै सहज भएको बताए। उनका अनुसार अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको छ।
साउनमा ४० लाखभन्दा बढी सिलिण्डर बिक्री
निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख १० हजारको हाराहारीमा सिलिण्डर बिक्री हुन्छ। तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिकटन एलपी ग्यास अर्थात् ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री भएको छ।
जुन अघिल्लो गत २०८२/८३ को साउनको तुलनामा करिब २९.३ प्रतिशत बढी हो। गत आवको ४४ हजार ३१८ मेट्रिकटन एलपी ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ थान सिलिण्डर बिक्री भएको थियो। त्यसैगरी अघिल्लो आव २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिकटन अर्थात् ३२ लाख २० हजार ७७५ थान सिलिण्डर बिक्री भएको थियो।
चैतदेखि असारसम्मको बिक्री
निगमका अनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिकटन ग्यास आयात भएको थियो। जसमा विभिन्न उद्योगबाट ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिण्डर बिक्री भएका थिए। जबकी २०८१ साल चैतमा ४८ हजार ३२७ मेट्रिकटन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० पूरा भरिएका सिलिण्डर बिक्री भएका थिए।
त्यसैगरी गत बैशाखमा ३२ हजार ५६ मेट्रिकटन आयात भएको थियो भने गत वर्षको बैशाखमा ४६ हजार ५०३ मेट्रिकटन ग्यास आयात भएको थियो। साथै यस वर्षको जेठमा ३३ हजार ८४२ मेट्रिकटन र गत वर्षको जेठमा ४९ हजार ८१६ मेट्रिकटन ग्यास आयात भएको थियो। साथै यस वर्षको असारमा ४४ हजार ५४४ मेट्रिक थान ग्यास आयात हुँदा गत वर्षको असारमा ४७ हजार ९३३ मेट्रिकटन थान ग्यास आयात भएको थियो। रासस