काठमाडौं । रूपाकोट रिसोर्टले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले त्यसका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कास्की जिल्लाको रुपा–६, मैदानमा रहेको रुपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्न लागेको हो ।
त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण परामर्श सहितको सेवा उपलब्ध गराउने गरी क्यापिटल र रुपाकोट रिसोर्ट लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । प्राकृतिक सौन्दर्य, शान्त एवं रमणीय वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य तथा रुपा र बेगनास तालको मनमोहक दृश्यावलोकन गर्न सकिने विशेष भौगोलिक अवस्थित यस रिसोर्टको प्रमुख विशेषताका रूपमा रहेका छन् ।
पछिल्लो समय रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीचको सन्तुलन कायम गर्दै पाहुनालाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्दै आएको छ ।
रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सफल भएको छ ।