काठमाडौं । ओपनएआईले किशोर–किशोरीलाई लक्षित गर्दै ‘च्याटजिपिटी फर टिन्स’ सार्वजनिक गरेको छ ।
नयाँ संस्करणले एआईसँग गृहकार्य गर्ने, दैनिक जिज्ञासा मेटाउने र कतिपय अवस्थामा संगत गर्ने गरेका किशोरहरूलाई सुरक्षित र उमेर सुहाउँदो वातावरण प्रदान गर्ने लक्ष्यका साथ ‘च्याटजिपिटी फर टिन्स’ सार्वजनिक गरिएको हो।
गत केही दिनअघि सार्वजनिक गरिएको च्याटजिपिटी फर टिन्स १३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्ताहरूका लागि तयार पारिएको छ ।
यसमा आत्महत्या, आत्महानि तथा रोमान्टिक वा यौनसम्बन्धी कुराकानीजस्ता विषयहरूमा कडा कन्टेन्ट प्रतिबन्धहरू समावेश गरिएको सान फ्रान्सिस्कोस्थित कम्पनीले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाउँदै आएका छन्।
यसले सीधा उत्तर वा निबन्ध लेखिदिनुको अलावा विद्यार्थीहरूलाई सिकाइतर्फ डोर्याउन डिजाइन गरिएको गृहकार्य र अध्ययन सहयोग पनि प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यसको मुख्य उद्देश्य किशोरहरूलाई उमेर सुहाउँदो वातावरणमा स्वस्थ रूपमा एआई प्रयोग गर्नतर्फ प्रेरित गर्नु हो।
ओपनएआईका अनुसार च्याटजिपिटी फर टिन्सअन्तर्गत च्याटबटलाई प्रयोगकर्ताहरूप्रति व्यक्तिगत भावनाहरू छन् भनी संकेत गर्न वा आफू सचेत भएको वा नभएको भन्ने भावनाहरू अनुभव गर्छ भनेर देखाउन पूर्ण रूपमा रोक लगाइएको छ। अर्कोतर्फ रोमान्टिक वा यौनजन्य कुराकानीहरू पनि ब्लक गरिएका छन्।