काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउँदै व्यवसायीको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे ।
राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोपलगायत विभिन्न चुनौतीका बीच पनि व्यवसायीले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै उनले पछिल्ला घटनाक्रमले निजी क्षेत्र र युवालाई थप त्रसित बनाएको बताए ।
उनले अहिलेको प्रमुख आवश्यकता निजी क्षेत्रसँग विश्वासको सम्बन्ध निर्माण गर्नु रहेको बताए । “समस्या थुप्रै छन् तर सबैभन्दा पहिलो कुरा त निजी क्षेत्रलाई विश्वास गर्नुपर्यो, निजी क्षेत्रको कन्फिडेन्स बढाइदिनुपर्यो,” उनले भने ।
श्रेष्ठले सरकारले उद्योग सञ्चालन गर्नु गलत नभए पनि एउटा उद्योगलाई मात्रै केन्द्रमा राखेर औद्योगीकरणको नीति बनाउन नहुने बताए । हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्न सक्ने आशंका गर्नु गलत मानसिकता भएको उनको टिप्पणी थियो ।
“यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन । नेतृत्व लिनेहरूले यस्तो सोच लिनु हुँदैन,” उनले भने ।

निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर देशको आर्थिक विकास सम्भव नहुने श्रेष्ठको भनाइ छ । सरकारले आफैं उद्योग सञ्चालन गरे पनि निजी क्षेत्रलाई कसरी अघि बढाउने भन्ने स्पष्ट नीति आवश्यक रहेको उनले बताए ।
नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्ने गरी नीति बनाउनुपर्नेमा जोड दिँदै उनले उद्योगको समग्र ‘इकोसिस्टम’ निर्माण गरे मात्रै उत्पादन र अर्थतन्त्र विस्तार गर्न सकिने बताए ।
व्यवसायीले दैनिक नाफा–घाटा र विभिन्न चुनौती सामना गर्दै पनि आशावादी भएर व्यवसाय अघि बढाइरहेको उल्लेख गर्दै श्रेष्ठले उद्यमीको मनोबल गिराउने र हुर्मत लिने कामले देशको आर्थिक विकासमा नकारात्मक असर पार्ने बताए ।
सरकार र निजी क्षेत्रबीचको विश्वासको सम्बन्ध बलियो बनाउँदै व्यवसायमैत्री नीतिगत वातावरण निर्माण गर्न सके मात्रै उद्योग, रोजगारी र अर्थतन्त्रको विकासले गति लिने उनको भनाइ छ ।