काठमाडौं । कुमारी जबले एआईमा आधारित ‘एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (एटीएस)’ लाई लिंक्डइनसँग एकीकृत गरेको छ।
कम्पनीका अनुसार कुमारी जबका १० लाखभन्दा बढी र लिंक्डइनका करिब २७ लाख प्रयोगकर्तासहित रोजगारदाताले ३७ लाखभन्दा बढी सम्भावित जबसिकरसम्म पहुँच बनाउन सक्नेछन्।
एआईमा आधारित रिजुमे खोजी, स्क्रिनिङ, सर्टलिस्टिङदेखि अन्तर्वार्ता र अन्तिम छनोटसम्मको प्रक्रिया एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ।
रोजगारदाता र रोजगारी खोज्नेबीचको सम्पर्क तथा छनोट प्रक्रिया प्रविधिमैत्री बनाउने उद्देश्यले कुमारी जबले आफ्नो एआईमा आधारित ‘एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (एटीएस)’ लाई लिंक्डइनसँग एकीकृत गरेको छ।
कम्पनीका अनुसार कुमारी जबमा हाल १० लाखभन्दा बढी जबसिकर दर्ता छन् भने नेपालमा लिंक्डइनका करिब २७ लाख प्रयोगकर्ता छन्। दुई प्लेटफर्मको पहुँचलाई जोड्दा रोजगारदाताले ३७ लाखभन्दा बढी सम्भावित जबसिकरसम्म पहुँच बनाउन सक्ने कम्पनीको दाबी छ।

कुमारी जबको एटीएसमार्फत रोजगारदाताले उम्मेदवार खोज्ने, आवेदन हेर्ने, एआईबाट प्रारम्भिक स्क्रिनिङ गर्ने, उपयुक्त उम्मेदवारको सूची तयार गर्ने, अन्तर्वार्ता व्यवस्थापन गर्ने र अन्तिम छनोटसम्मको प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सक्नेछन्।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले रोजगार क्षेत्रमा प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको बताउँदै लिंक्डइनसँगको एकीकरणले नेपाली व्यवसायलाई आवश्यक जनशक्ति खोज्ने प्रक्रिया थप सहज र प्रभावकारी बनाउने बताए।
कम्पनीले एआईमा आधारित रिजुमे तथा सीभी खोजी सुविधासमेत उपलब्ध गराएको छ। रोजगारदाताले की–वर्ड, सीप, पद, अनुभव, शैक्षिक योग्यता र ठेगानाका आधारमा आफ्नो डेटाबेसबाट सम्भावित उम्मेदवार खोज्न सक्नेछन्। सामान्य भाषामा आफूलाई आवश्यक जनशक्तिको विवरण लेखेर खोज्दा पनि एआईले त्यससँग मेल खाने रिजुमे पहिचान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
यसले रोजगारदातालाई जागिरको सूचना प्रकाशित गरेर आवेदन पर्खनुपर्ने परम्परागत प्रक्रियाको विकल्पसमेत दिनेछ। आवश्यक जनशक्ति सीधै खोजेर सर्टलिस्ट गर्ने र अन्तर्वार्ता प्रक्रिया अगाडि बढाउन सकिने कम्पनीको भनाइ छ।
कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई र गुगल जेमिनीजस्ता एआई प्रविधि पनि समावेश गरेको जनाएको छ। प्रणालीले उम्मेदवारको प्रोफाइललाई सम्बन्धित जागिरको विवरणसँग तुलना गरी प्रारम्भिक छनोट गर्न तथा सीप, योग्यता र अनुभवका आधारमा पदका लागि उपयुक्तताको संक्षिप्त विवरण तयार गर्न सहयोग गर्नेछ।
यसैगरी ‘ट्यालेन्ट पुल म्यानेजमेन्ट’मार्फत सम्भावित उम्मेदवारको प्रोफाइल सुरक्षित राख्ने, वर्गीकरण तथा ट्याग गर्ने र भविष्यमा पद खाली हुँदा पुन: खोज्न सकिने व्यवस्था गरिएको छ। एटीएस पाइपलाइनमार्फत उम्मेदवार खोजीदेखि स्क्रिनिङ, सर्टलिस्टिङ, अन्तर्वार्ता र अन्तिम नियुक्तिसम्मको प्रक्रिया ट्र्याक गर्न सकिनेछ।
सन् २०१४ मा स्थापना भएको कुमारी जबले जब पोर्टलसँगै एचआर आउटसोर्सिङ, कन्सल्टिङ तथा तालिमसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा एआईमा आधारित रोजगार समाधान थप विस्तार गर्दै रोजगारदाता र जबसिकरलाई जोड्ने प्रविधिमैत्री एचआर प्लेटफर्मका रूपमा सेवा विस्तार गर्ने जनाएको छ।