काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुन:स्थापनाका लागि अभियान तीव्र बनाएको छ ।
चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा रहने प्रतिबद्धता पनि चेम्बरले जनाएको छ ।
बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ ।
प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले चेम्बरले राहत संकलन तथा वितरण अघि बढाएको हो । रसुवा, नुवाकोट र धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराइसकेको र आवश्यकताअनुसार थप राहत सहयोग जारी राख्ने चेम्बरले जनाएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० केजी पेलोड क्षमताको ड्रोन तथा एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । १०० केजी पेलोड क्षमताको थप ड्रोन पठाउने अन्तिम तयारी भइरहेको चेम्बरले जनाएको छ ।
त्यस्तै, प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइएको छ । नेपाल युथ चेम्बरले भदौ ११ गते जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने आवश्यकता अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत संघलाई उद्धार, राहत र आवश्यक व्यवस्थापनमा तत्काल सक्रिय हुन आग्रह गरेको छ ।
विपद्को कठिन अवस्थामा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै एकजुट हुनुपर्ने उल्लेख गर्दै चेम्बरले पुन:स्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।