काठमाडौं । भारतको उत्तर प्रदेशस्थित महराजगंजमा गण्डक (नारायणी) नदीबाट चारवटा र कुशीनगरमा तीनवटा शव फेला परेका छन् ।
नेपालमा आएको भीषण बाढीका क्रममा यी शवहरू नदीमा बगेर तीव्र बहावसँगै भारततर्फ आएको आशंका गरिएको छ ।
अधिकारीहरूका अनुसार पाँच महिला र दुई पुरुषका शव भेटिएका हुन् । सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेको थियो ।
टोलीले मोटरबोटको सहयोगमा ती शवहरूलाई नदीबाट बाहिर निकालेर महराजगंज र कुशीनगर जिल्ला मुख्यालय पठाएको छ । अहिलेसम्म शवहरूको पहिचान हुन सकेको छैन।
निचलौल तहसीलका उप-जिल्लाधिकारी सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग भने, ‘बिहीबार दिउँसो गण्डक नदीबाट चारवटा शव फेला परेका छन्, जसमा तीन महिला र एक पुरुष छन् । यी शवहरू ‘अपस्ट्रीम’ अर्थात् नेपालबाट बगेर आएको प्रबल सम्भावना छ ।’

कुशीनगरका अतिरिक्त प्रहरी उपरीक्षक सिद्धार्थ वर्माले बीबीसी हिन्दीलाई बताए, ‘कुशीनगरमा तीनवटा शव फेला परेका छन्, जसमा दुई महिला र एक पुरुष छन् । तीनवटै शवलाई फ्रिजरमा सुरक्षित राखिएको छ र पहिचान गर्ने प्रक्रिया चलिरहेको छ ।’
आगामी दिनहरूमा अझै थप शवहरू भारततर्फ बगेर आउन सक्ने आशंका अधिकारीहरूले व्यक्त गरेका छन् ।