काठमाडौं । नामिबियाले दक्षिण अफ्रिकालाई १८ रनले पराजित गर्दै त्रिदेशीय टी- २० सिरिजमा विजयी सुरुवात गरेको छ ।
विन्डहोकस्थित नामिबिया क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले ७५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नामिबियाका जान फ्रिलिङ्क र लरेन स्टेनक्याम्पले ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए । फ्रिलिङ्कले ६० र स्टेनक्याम्पले ४१ रन बनाएपछि नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
नामिबियाका बलरहरूले दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाको ब्याटिङलाई नियन्त्रणमा राख्दै निर्धारित ओभरमा लक्ष्यसम्म पुग्न दिएनन् । यो जितसँगै नामिबियाले दक्षिण अफ्रिकाविरुद्ध छोटो समयमै अर्को महत्वपूर्ण जित हात पारेको छ । यसअघि नामिवियाले २०२५ को अक्टोबरमा भएको खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गरेको थियो ।