काठमाडौं । भोटेकोसी–त्रिशूली बाढीपछि विभिन्न जिल्लामा फेला परेर कास्की ल्याइएका पहिचान हुन नसकेका ७६ शवको व्यवस्थापन गरिएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार कास्कीमा कुल १०२ शव ल्याइएको थियो। तीमध्ये २१ शवको सनाखत भएको छ।
पहिचान हुन नसकेका ७८ शव व्यवस्थापन गर्ने तयारी गरिएको थियो तर व्यवस्थापन गर्नुअघि दुई शवको पहिचान भएपछि बाँकी ७६ शवलाई पोखरा महानगरपालिका–१६ मा खाल्डो खनेर गाडिएको कार्कीले बताए।
‘७८ वटा शव व्यवस्थापन गर्न लागिएको थियो। दुई वटा शवको पहिचान भएपछि ७६ शव खाल्डो खनेर गाडेर व्यवस्थापन गरियो,’ उनले भने।
भोटेकोसी–त्रिशूली बाढीले बगाएर ल्याएका तथा तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायतका जिल्लामा भेटिएका शव कास्की ल्याइएको थियो।

तीमध्ये पहिचान हुन नसकेका शवलाई पोखरा–१६ मा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शवको पहिचानका लागि आफन्तबाट प्राप्त विवरण तथा अन्य प्रक्रियाबाट सनाखत गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।