काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले मुलुकमा नुनको अभाव नरहेको र तत्काल नुनको आपूर्तिमा कुनै समस्या नहुने स्पष्ट पारेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भइरहेका बेला नुनको समेत अभाव हुन सक्ने आशंका भइरहेका बेला कर्पोरेसनले पर्याप्त मौज्दात रहेको जनाएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले करिब सात महिनासम्म पुग्ने नुन मौज्दातमा रहेकाले तत्काल देशभर नुनको अभाव नहुने बताए ।
बुधबार कर्पोरेट खबरसँग कुराकानी गर्दै राजभण्डारीले भने, “हामीसँग सात महिनाका लागि पुग्ने नुन स्टकमा छ । त्यसैले तत्काल नुनको अभाव हुँदैन ।” भारतबाट आयात हुने भएकाले आपूर्तिमा समस्या छैन
नेपालमा खपत हुने नुन भारतबाट आयात हुने भएकाले हालको परिस्थितिमा नुन ल्याउन समेत कुनै समस्या नरहेको प्रवक्ता राजभण्डारीले बताए । उनले भने, “हामीले भारतबाट नुन ल्याउने हो, त्यसैले अहिले नुन आयातमा समस्या छैन ।”

बाढीका कारण कतिपय सडक तथा पुलमा क्षति पुगे पनि नुनको मूल आपूर्ति प्रणालीमा भने तत्काल असर नपरेको कर्पोरेसनको भनाइ छ । कर्पोरेसनसँग रहेको मौज्दात र भारतबाट हुने नियमित आयातका कारण बजारमा नुनको आपूर्ति निरन्तर कायम राख्न सकिने राजभण्डारीले बताए ।
बाढी प्रभावित क्षेत्रमा पनि नुनको अभाव छैन
एक साता अघि रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ ।
बाढीले घर, गाउँ, बजार, सडक तथा पुलमा क्षति पुर्याउँदा प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित भएको छ ।
बाढीका कारण कतिपय स्थानमा खाद्यान्न, लत्ता कपडा लगायत अत्यावश्यक सामग्रीको अभाव देखिएको छ । कतिपय बजार तथा बस्तीमा सडक सम्पर्क टुटेका कारण नियमित रूपमा सामान ढुवानी गर्नसमेत समस्या भइरहेको छ ।
यस्तो अवस्थामा नुन पनि अत्यावश्यक खाद्य वस्तु भएकाले बाढी प्रभावित जिल्लामा यसको उपलब्धता र आपूर्तिबारे चासो बढेको थियो । तर हालसम्म प्राप्त जानकारी अनुसार व्यापक रूपमा नुन अभाव भएको अवस्था नरहेको कर्पोरेसनले जनाएको छ ।
प्रवक्ता राजभण्डारीका अनुसार हालसम्म धादिङको एउटा स्थानबाट मात्रै नुन आवश्यक रहेको जानकारी आएको छ । अन्य बाढी प्रभावित क्षेत्रबाट नुन अभाव भएको औपचारिक जानकारी प्राप्त नभएको उनले बताए ।
“अहिलेसम्म धादिङको एउटा ठाउँबाट मात्रै नुन आवश्यक रहेको जानकारी पाएका छौँ । अन्य ठाउँबाट नुन नै अभाव भयो भन्ने जानकारी आएको छैन,” राजभण्डारीले भने ।
अभाव देखिए वैकल्पिक बाटोबाट आपूर्ति
बाढीका कारण कतिपय मुख्य सडक तथा पुलमा क्षति पुगेकाले नियमित ढुवानीको बाटो अवरुद्ध भए पनि त्यसलाई आपूर्तिको बाधक बन्न नदिने कर्पोरेसनले जनाएको छ ।
कुनै बाढी प्रभावित क्षेत्रमा नुनको अभाव देखिएमा सरकारले तोकेको वैकल्पिक बाटो प्रयोग गरेर नुन पुर्याउने व्यवस्था गरिने राजभण्डारीले बताए ।
उनले भने, “यदि कुनै ठाउँमा नुनको अभाव भयो भने सरकारले तोकेको वैकल्पिक बाटोको माध्यमबाट नुन पुर्याउनेछौँ ।”
यसका लागि प्रभावित क्षेत्रको अवस्थाबारे स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जानकारी लिने र आवश्यकता अनुसार आपूर्ति व्यवस्थापन गर्ने कर्पोरेसनको तयारी छ ।
भोटेकोशी बाढीपछि प्रभावित जिल्लामा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा देखिएको समस्याबीच कर्पोरेसनको यो भनाइले नुनको हकमा भने तत्काल अभावको अवस्था नरहेको स्पष्ट पारेको छ। यद्यपि बाढी प्रभावित क्षेत्रको अवस्था अझै सामान्य भइनसकेकाले आगामी दिनमा माग र आपूर्तिको अवस्था हेरेर थप व्यवस्थापन गर्नुपर्ने देखिन्छ।