काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् ।
होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायत संस्थाको तर्फबाट उक्त रकम सहयोग गरिएको हो ।
बुधबार होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिकका निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्को अवस्थामा सरकारले सञ्चालन गर्ने राहत तथा पुनर्निर्माणका काममा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोडभन्दा बढी रकम सहयोग गरिएको बताइन् ।
उनले सहयोग रकम ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन् ।

उनले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उद्धार, राहत तथा पुन:स्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिप्रति उनले सम्मानसमेत व्यक्त गरिन् ।
बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुन:स्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध विभिन्न संस्थामार्फत कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।