काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- यस बर्षको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशी (राजभण्डारी) ले पाएका छन् । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कारका लागि छनौट भएका १० कृतिबाट जोशीको कृति नेवार समुदायका परम्परागत मुकुन्डोनाचलाई छनौट गरेको हो । गुठीले ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच ( नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरेकाले मदन पुरस्कार २०८२ अर्पण गर्ने निर्णय गरेको जनाएको छ ।मदन पुरस्कारका लागि छनौट गरिएका १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका थिए ।
त्यस्तै गुठिले यस बर्षको जगदम्बा–श्री पुरस्कार भने ६ दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई प्रदान गरेको छ । २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.सं. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो । २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको हो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो ।
२- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यतासमेत त्याग्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन् । पाठकले करिब चार वर्षअघि राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति प्रतिबद्ध र सबै वर्ग तथा समुदायको भरोसायोग्य दल बनाउने सहमतिका आधारमा आफू पार्टीमा आबद्ध भएको बताउदै उक्त सहमतिअनुसार ठोस र परिणाममुखी काम हुन नसकेको उल्लेख गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । उनले पार्टीको विचार र व्यवहारबीच ठूलो विरोधाभास रहेको तथा केन्द्रीय नेतृत्वमा लामो समयदेखिको आन्तरिक बेमेल र गुटगत स्वार्थको संघर्ष झन् बढ्दै गएको बताएका छन् ।
उनले यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीतर्फ आकर्षित गर्न कठिन हुने उल्लेख गरेका छन् । पाठकले राप्रपाका तल्लो तहमा रहेका धेरै नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता प्रेरणादायी रहेको भन्दै उनीहरूप्रति सम्मान व्यक्त गर्दै आफूलाई सहयोग, शुभेच्छा र आलोचनात्मक सुझाव दिने सबैप्रति आभारसमेत व्यक्त गरेका छन् । एक दशकको सक्रिय राजनीतिक यात्रा र त्यसअघि सञ्चारकर्मबाट हासिल गरेको अनुभवलाई आगामी दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा थप प्रतिबद्धताका साथ प्रयोग गर्ने पाठकले बताएका छन् ।

३- स्वरोज़गार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा स्वरोज़गार लघुवित्तका अध्यक्ष ज्ञानन्द्रप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका थिए । एकीकरणपछि शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबार एउटै संस्थामार्फत सञ्चालन गरिने भएको छ ।
यसबाट संस्थाको वित्तीय क्षमता र सञ्चालन दक्षता थप बलियो हुने अपेक्षा गरिएको छ । एकीकरणअघि स्वरोज़गार लघुवित्तको चुक्ता पुँजी करिब ६८ करोड ५६ लाख रुपैयाँ र विन नेपालको करिब ७ करोड ४३ लाख रुपैयाँ रहेकोमा एकीकरणपछि चुक्ता पुँजी करिब ७५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । एकीकृत संस्थाको शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी र कर्मचारी संख्या करिब ६१९ पुगेको जनाइएको छ । संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ र कुल बचत करिब ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दुई संस्थाको एकीकरणले पुँजीगत आधार, पहुँच र सञ्चालन क्षमता विस्तार गर्दै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
४- काठमाडौँ महानगरपालिकाले उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात विस्तारका लागि हाल सञ्चालनमा रहेका ७ बसलाई बढाएर २८ पुर्याउने प्रस्ताव गरेको छ । रात्रिकालीन यातायातको प्रभाव अध्ययन गर्न गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो । हाल नागढुङ्गा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा सेवा सञ्चालन भइरहेको छ। प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायु सेवासम्मका रुट रहेका छन्। यी रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र र उपत्यकाका मुख्य नाकालाई जोड्नेछन् ।
वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले रात्रिकालीन सेवा लिएका थिए । एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गरेकोमा सञ्चालन खर्च ४ हजार ८१४ रुपैयाँ रहेको पाइएको छ । यसअनुसार प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनअनुसार राति ८ देखि ९ बजेसम्म सबैभन्दा बढी यात्रुको चाप रहने गरेको छ । छोटो दूरीका यात्रु ४७ प्रतिशत, मध्यम दूरीका ३२ प्रतिशत र लामो दूरीका २१ प्रतिशत रहेका छन् । सेवा विस्तार गर्दा महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षाका लागि बसमा निगरानी क्यामेरा, स्थान पहिचान प्रणाली र व्यवस्थित बस बिसौनी राख्न सिफारिस गरिएको छ । काठमाडौँसहित ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गर्न सुझाव दिइएको छ । महानगरपालिकाले उपत्यकाका स्थानीय तहलाई समेटेर दिगो रात्रिकालीन यातायात सञ्जाल विकास गर्ने तयारी गरेको जनाएको छ ।
५- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका थिए । लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने बताएका थिए । सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव अघि सारेको बताए ।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न र आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूले गरेको लेखकले बताएका थिए । ‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ उनले भने । पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अझै समाधानको सम्भावना रहेको बताएका थिए । उनले महाधिवेशन प्रक्रिया रोक्दै अदालतको फैसला कुर्नुपर्ने बताए । आधिकारिकतासम्बन्धी मुख्य मुद्दा विचाराधीन रहेकाले एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधान मान्न नहुने उनको भनाइ थियो । लेखकले महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुने चेतावनी दिँदै त्यसको जिम्मेवारी महाधिवेशन अघि बढाउने पक्षले लिनुपर्ने बताएका थिए । कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा आफूले महाधिवेशन रोक्न आग्रह गरिरहेको उनले बताएका थिए ।
६- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भदौ २२ गतेदेखि प्रत्येक दिन सवारी साधन सञ्चालनमा रोक लगाएर माटो कटानको काम गरिनेछ । सडकखण्डमा सवारी साधनको आवागमन न्यून रहेको समयको सदुपयोग गर्दै कामलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको हो । हाल मुग्लिन-काठमाडौँ सडक अन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने कार्य भएकाले सडक बन्द रहेको छ ।प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन रोक्ने बताएको छ । माटो कटान कार्यका कारण सवारी साधन प्रभावित हुने भएकाले यात्रुले उक्त तालिकाअनुसार यात्रा तथा सवारी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
७- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई तयारी गरेर प्रमाणसहित राष्ट्रसंघमा नेपालका कुरा राख्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तयारी गरेर प्रमाणसहित जलवायु न्यायका कुरा राष्ट्रसंघको महासभामा राख्न आग्रह गरेका छन् । सभापति थापाले विगतका सरकारले जलवायु परिवर्तन बारे गरेका निर्णय, अन्तर्राष्ट्रिय मन्चमा राखेका विगतका सरकारले उठाएका विषय, नेपाल र विदेशमा रहेका विषय विज्ञको सुझाव सबै टेबुलमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । उनले भनेका छन्- ‘भोटेकोशी बाढीको सन्दर्भमा एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ ।
हामीले लबी गर्नु पर्ने छ । लबी गर्दै गर्दा संस्थाहरुलाई कम्जोर ठान्नु हुदैन । प्रधानमन्त्री राष्ट्रसंघको महासभामा जादै हुनुहुन्छ, यस्तो पनि नसोचियोसकी यो भन्दा पहिला कुनै प्रधानमन्त्री महासभामा जानुभएको छ । यो भन्दा पनि महासभामा गएर हिमालदेखि महासागरसम्मको भाषण गरेको याद छ । यो भन्दा अगाडीका प्रधानमन्त्रीहरुले कोप २६ र कोप २८ मा हिमाली क्षेत्रमा परेको संकटको बारेमा कुरा राख्नुभएको छ । अहिले नेपालीहरु विश्वभर यस क्षेत्रमा काम गरिरहेका छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । तपाइँ जानु भन्दा पहिला नेपाल भित्र यो भन्दा पहिलाका सरकारहरुले के गरेका थिए भने कुरा एक पटक पल्टाएर हेर्नुस् । नेपालका संस्थाहरुले राम्रा कुराहरु, नेपालका संस्थाहरु कुन कुन छन्, विश्वविद्यालयहरु छन्, अन्तर्राष्ट्रिय संस्था छन्, ति संस्थाहरुको अध्ययन टेबुलमा ल्याउनुस । विज्ञहरु हुनुहुन्छ, केवल सचिवालयका सदस्यहरुको भर नपर्नुस । महासभालाई प्रभावित पार्न सक्ने नेपालीहरु अमेरिकामै बस्छन् । उनीहरु प्रधानमन्त्रीको एक कलमा नेपाल आएर सहयोग गर्छन् । प्रधानमन्त्री जानुभन्दा पहिला यी दुई तीनवटा बैठकबाट नेपालको प्रस्तुतिलाई गजबको बनाउन सकिने ठाउ छ ।’
८- गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरो आउनुका साथै ढाड दुख्ने र शरीर तथा खुट्टामा डाबरजस्ता खटिरा देखिएको छ । रसुवामा आएको भीषण बाढीपछि करिब १० दिनसम्म निरन्तर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको हुन सक्ने चिकित्सकले बताएका छन् । उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षण तथा उपचार भइरहेको बताइएको छ ।
९- चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा बाढी आएर पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ । प्रशासनले अर्को सूचना जारी नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा यात्राको तयारीमा रहेका वा यात्रामा रहेका पदयात्रीलाई पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ । विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहलाई जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।
१०- भोटेकोशी बाढीबाट नुवाकोटमा २६०८ जना सम्पर्कविहिन भएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको अपडेट अनुसार नुवाकोटबाट १८७७ पुरुष, ४६५ महिला, १०४ विदेशी पुरुष, १०७ विदेशी महिला र ५५ जना नखुलेका मानिस सम्पर्कविहिन रहेका छन् । प्रशासनले अहिलेसम्म जिल्लाका ३४०३ जनाको उद्धार गरिएको जानकारी दिएको छ । त्यसैगरी नुवाकोटमा अहिलेसम्म १९३ जनाको शव निकालिएको छ । जसमा १२० जना लिंग पहिचान नभएका रहेका छन् ।
११- नेपाल ए टिमले अस्ट्रेलियामा जारी एकदिवसीय सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल ए आइतबार सम्पन्न खेलमा न्यूजील्याण्ड ए सँग २ विकेटले पराजित भएको हो । नेपाल ए ले दिएको २१२ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड ए ले ४९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपाल ए ले पहिला ब्याटिंग गर्दै ५० ओभरमा २११ रन बनाएको थियो । नेपाल ए का पवन सराफले सर्बाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७, कप्तान अनिल कुमार शाहले २४, मयन यादवले २० रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्ड ए का बलर माट फिसरले सर्बाधिक ४ विकेट लिएका थिए भने काटेन क्लार्क र आदि अशोकले २-२ विकेट लिएका थिए । योसँगै नेपाल ए टिमको अस्ट्रेलिया टूर सकिएको छ । नेपाल एले यसअघि खेलेका दुवै खेलमा साउथ अस्ट्रेलिया र तासमानियासँग हार बेहोरेको थियो । त्यसअघि नेपाल ए ले टप एन्ड सिरिज खेलेको थियो । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो ।
१२- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । थापाले शनिबार खड्का र आइतबार कोइरालासँग भेट गरी पार्टीको आन्तरिक अवस्था तथा आगामी महाधिवेशनबारे छलफल गरेका हुन् । आज दिउँसो भएको भेटमा सभापति थापा र नेता कोइरालाबीच पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको थियो । कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए । कोइरालाले पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न तयार रहेको बताएका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।
१३- नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो । साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले अविजित ४४ रन बनाएका थिए भने इशान पाण्डेले ४०, देव खनालले ३९, रोहित पौडेलले २४, असिफ सेखले २० र अर्जुन कुमालले १५ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाएका थिए । त्यसैगरी, नेपाली बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशीले २ तथा शेर मल्ल र गुलशन झाले एक एक विकेट लिएका थिए । यो जितपछि नेपाल लगातार तीन खेल जितेर सेमिफाइनलमा पुगेको छ । साउदी अरेबिया भने ४ खेलमा एक जित र ३ हारसहित बाहिरिएको छ । नेपालले अब लिग चरणमा चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने तालिका रहेको छ ।
१४- परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ । भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो । मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरेका थिए ।
उनले विपद्पछि दिगो र जोखिमप्रतिरोधी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आगामी पुनर्निर्माणमा समेत कोरियाको निरन्तर सहयोगको अपेक्षा गरेका थिए । दक्षिण कोरियाका विदेशमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताएका थिए । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका विषयमा नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने बताएका थिए । भेटवार्तामा दुवै मन्त्रीले आपसी विश्वास, मित्रता र सहकार्यका आधारमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्याएका थिए ।
१५- चीन र सिङ्गापुरबीचको संयुक्त समुद्री सैन्य अभ्यास चीनको दक्षिणी ग्वाङदोङ प्रान्तमा सुरु भएको छ । दुई देशबीच यस्तो संयुक्त अभ्यास हुन लागेको यो पाँचौँ पटक हो । झानजियाङस्थित चिनियाँ नौसेना बन्दरगाहमा अभ्यासको उद्घाटन गरिएको हो । झानजियाङ आसपासको समुद्री क्षेत्र र हवाई क्षेत्रमा सञ्चालन हुने अभ्यासमा वास्तविक हतियारसहितको सैन्य अभ्यास, समुद्रमै इन्धन तथा आवश्यक सामग्री आपूर्ति र संयुक्त खोज तथा उद्धार अभ्यास समावेश छन् ।
अभ्यासमा चीनको निर्देशित क्षेप्यास्त्रयुक्त युद्धपोत ताली र सिङ्गापुरको युद्धपोत आरएसएस स्टेडफास्ट सहभागी छन् । अभ्यासका क्रममा दुवै देशका नौसेनाले गोताखोरी, पनडुब्बी खोज तथा उद्धार, पानीमुनिको उपचार, सञ्चार, समुद्रमै आपूर्ति तथा संयुक्त समुद्री आक्रमणसम्बन्धी अभ्यास गर्नेछन् । चिनियाँ रक्षा मन्त्रालयका अनुसार अभ्यासको उद्देश्य दुई देशका सेनाबीच पारस्परिक विश्वास बढाउनु, व्यावहारिक सहकार्य सुदृढ गर्नु तथा क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न संयुक्त रूपमा काम गर्ने क्षमता बढाउनु हो । दक्षिण चीन सागरमा बढ्दो समुद्री आवागमन र जटिल मौसम तथा समुद्री अवस्थाका कारण संयुक्त खोज तथा उद्धार अभ्यासलाई विशेष महत्व दिइएको चिनियाँ सैन्य विज्ञ झाङ जुनसेले बताएका छन् । चीन र सिङ्गापुरले सन् २०१५ मा पहिलोपटक द्विपक्षीय समुद्री सैन्य अभ्यास गरेका थिए । पछिल्ला वर्षमा यस्तो अभ्यास दुई देशबीचको नियमित सैन्य सहकार्यको हिस्सा बन्दै आएको छ। सन् २०२५ को मेमा पनि चिनियाँ नौसेनाले निर्देशित क्षेप्यास्त्रयुक्त युद्धपोत र विस्फोटक निष्क्रिय पार्ने विशेष युद्धपोत सिङ्गापुर पठाएर संयुक्त अभ्यास गरेको थियो ।
१६- पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति प्रहरीले वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्टमा रहेको क्यासिनोमा विशेष अभियान सञ्चालन गर्दा अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज समेत रहेका प्रहरी इन्स्पेक्टर प्रदिप पौडेल समेत रहेको बताइएको छ । प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अध्यक्ष यादवसहित आठ जना नियन्त्रणमा परेको पुष्टि गर्दै आज सार्बजनिक गर्ने तयारी गरेको बताएको छ ।
१७- इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले क्षेत्रीय समुद्री क्षेत्रमा गस्ती गरिरहेका अमेरिकी नौसेनाका दुई युद्धपोतलाई क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले तीनवटा इरानी कच्चा तेल बोकेका ट्यांकरमा आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्न सक्ने विध्वंसक युद्धपोतले इरानबाट भएका ‘धेरै अप्रेरित आक्रमण’ सफलतापूर्वक छल्न सफल भएको जनाएको थियो । इरानबाट भएको आक्रमणको प्रयासपछि अमेरिकी सेनाले खार्ग द्वीपको तट तथा जास्कनजिकै एमटी डाउनी र एमटी स्टार्क–१ नामका दुई इरानी कच्चा तेल ट्यांकर ध्वस्त पारेको सेन्ट्रल कमान्डले जनाएको छ । ओमानको खाडीमा रहेको अर्को खाली ट्यांकरलाई समेत सञ्चालन गर्न नसक्ने बनाइएको थियो । आक्रमणमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको सेन्ट्रल कमान्डले जनाएको छ ।
अमेरिकी सेनाका अनुसार ती तीनवटै ट्यांकर इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र उसका सहयोगी समूहलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको अर्बौँ डलरको गोप्य तेल सञ्जालको हिस्सा थिए । सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले अमेरिकी सेनाले आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्न कुनै हिचकिचाहट नगर्ने बताएका थिए । आवश्यक परे इरानको ‘खुला र सीमित’ तेल ढुवानी सञ्जाललाई समेत नष्ट गर्न सक्ने उनको भनाइ थियो । यसअघि इरानले खार्ग द्वीपनजिकै फारसको खाडीमा रहेको इरानी तेल ट्यांकरमाथि अमेरिकाले आक्रमण गरेको आरोप लगाएको थियो । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको र ट्यांकरका चालकदललाई सुरक्षित स्थानमा सारिएको थियो ।
१८- गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३: ३० बजे खोलामा आएको बाढीले दुईवटा कच्ची घर बगाएको र दुईवटा घर भत्काएको थियो । बाढीले नगु छिरिङ र उर्गीन लामाको कच्ची घर बगाएको थियो भने लाक्पाभुटी लामा र दोर्जे झाल्नको एकतले कच्ची घर भत्काएको थियो । यस्तै, चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने मानिस तथा घोडा आवतजावतका लागि प्रयोग हुँदै आएको फलामे पुलसमेत बगाएको प्रशासनले जनाएको छ । बाढीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी सहायक निरीक्षक यामबहादुर दराईको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट करिब २०० मिटर पश्चिममा पर्छ । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिहान ४:४० बजेसम्म नाम्रुङ खोलामा पानीको बहाव घटेर खोला सामान्य अवस्थामा फर्किएको थियो । यद्यपि, बुढीगण्डकी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
१९- साउदी प्रो लिगको रोमाञ्चक खेलमा अल इत्तिहादले क्रिस्टियानो रोनाल्डोको अल नासरलाई २–१ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा अल इत्तिहादले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै अल नासरको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो । अल इत्तिहादले सुरुआतदेखि नै अल नासरमाथि दबाब बनाएको थियो । घरेलु टोलीको निरन्तर दबाबका कारण अल नासरलाई आफ्नै क्षेत्रबाट बल बाहिर निकाल्नसमेत कठिन भएको थियो । शनिबार राति भएको पाँचौँ चरणको खेलमा अल इत्तिहादले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलको अग्रता बनाएको थियो । इत्तिहादका लागि दुवै गोल जर्ज इल्लेनिखेनाले गरेका थिए ।
उनले खेलको चौथो र २२औं मिनेटमा गरेका थिए । अल नासरले खेलको ३६औँ मिनेटमा एन्जेलोको गोलमार्फत खेलमा फर्किने प्रयास गरेको थियो । तर दोस्रो हाफमा अल नासरले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि अल इत्तिहादको रक्षापंक्तिले दबाब थेगेको थियो। अन्ततः अल इत्तिहादले २–१ को जित सुरक्षित गरेको थियो । यस हारसँगै साबिक विजेता अल नासरको जारी सिजनमा शतप्रतिशत जितको सुरुआत रोकिएको छ। पाँच खेलबाट अल नासरले १२ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको अल हिलालले सबै पाँच खेल जित्दै १५ अंक बनाएको छ । अल इत्तिहादको भने ५ खेलमा ११ अंक रहेको छ ।
२०- इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई १–० गोलले पराजित गरेको थियो । इतिहाद रंगशालामा भएको खेलमा सिटीका लागि हालान्डले २६औँ मिनेटमा गोल गरेका थिए । एन्टोइन सेमेन्कोले उपलब्ध गराएको उत्कृष्ट पासमा हालान्डले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यही गोल खेलको निर्णायक बनेको थियो ।
हालान्डका लागि यो क्लब फुटबलमा ३००औँ गोलसमेत बनेको थियो । उनले प्रिमियर लिगमा नयाँ सिजनको तेस्रो गोल गरेका छन् । खेलमा म्यानचेस्टर सिटीले बलमाथि अधिकांश समय नियन्त्रण राखे पनि कोभेन्ट्रीले दोस्रो हाफमा केही उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर सिटीका गोलरक्षक जियानलुइजी डोनारुम्माले महत्वपूर्ण बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए । म्यानचेस्टर सिटीका लागि एन्जो फर्नान्डेजले क्लबमा पहिलो खेल खेलेका थिए । नयाँ खेलाडीका रूपमा मैदानमा उत्रिएका फर्नान्डेजले हालान्डको गोल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो जितसँगै म्यानचेस्टर सिटीले लिगका सुरुआती तीनवटै खेल जित्दै नौ अंक जोडेको छ । कोभेन्ट्री भने लगातार तेस्रो खेलमा पराजित हुँदै अंकविहीन रहेको छ ।