काठमाडौं । “दु:खमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ” भन्ने सन्देशसहित काठमाडौँ मलका व्यवसायीहरूले यस वर्षको तीज पर्व मनाएका छन्।
काठमाडौं मल व्यवसायीहरूले आयोजना गरेको तीज भेलामा रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
साथै, बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राहत रकमसमेत संकलन गरिएको थियो।
व्यवसायीहरूले तीजलाई केवल नाचगान र मनोरञ्जनमा सीमित नगरी भेटघाट, आत्मीयता, सद्भाव, सांस्कृतिक एकता र सामाजिक उत्तरदायित्वको पर्वका रूपमा मनाएका हुन्।
रसुवामा भएको विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै यसपटक भड्किलो ढंगले उत्सव नगरी सहयोगको हात फैलाएर तीज मनाइएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै आयोजक सुष्मा महराले भदौ १० गते रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताइन्।

“हामी तीजका अवसरमा एकै ठाउँमा भेला भयौँ भन्दैमा नाचगान नै गर्नुपर्छ भन्ने छैन। व्यवसायी एकजुट भयौँ भने सुखमा आफ्नो खुसी र दु:खमा आफ्नो पीडा साटासाट गर्नुका साथै नेपाली नागरिकका दु:ख–सुखमा पनि एकजुट भएर सहयोगी हात फैलाउन सक्छौँ,” उनले भनिन्।
बाढीका कारण कतिपयले आफन्त गुमाउनुका साथै घरबार र जीवनभरको मेहनतले जोडेको सम्पत्तिसमेत गुमाएको उल्लेख गर्दै महराले विपद्मा परेका नागरिकसँग हातेमालो गर्नु मानवीयता र सामाजिक उत्तरदायित्व भएको बताइन्।
तीज भेलालाई मनोरञ्जन र उत्सवमा मात्र सीमित नराखी विपद् प्रभावित परिवारका लागि सहयोग संकलन गर्ने अवसरका रूपमा समेत उपयोग गरिएको उनले बताइन्। उनले कार्यक्रममा सहभागी व्यवसायी तथा उपस्थित महानुभावहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेकी थिइन्।
कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए।
महराले दु:खमा परेका नेपाली नागरिकलाई सहयोग गर्नु नै मानवीयताको परिचय भएको बताउँदै भनिन्, “दु:खमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ।”
काठमाडौँ मल व्यवसायीहरूको तीज भेलाले सांस्कृतिक उत्सवसँगै सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सन्देशसमेत दिएको छ।