काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच धरपकडको प्रयास गरिएको छ ।
प्रसाईँ झापाबाट फर्किने क्रममा प्रहरीले उनलाई एयरपोर्टमा बोल्न नदिएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो ।
प्रसाईँ आफ्ना सहयोगीहरूसहित झापाबाट फर्किएका थिए भने एयरपोर्टमा उनको प्रतीक्षामा युट्युबरहरु जम्मा भएका थिए । तर प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई ‘बाइट’ दिन रोक लगाएको थियो ।
त्यसपछि उनी प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुदन गुरुङविरुद्ध उत्तेजक नारा लगाउँदै समर्थकहरूसहित घरतिर लागेका छन् ।

दुर्गा प्रसाईँले ‘बालेन चोर’, सुदन गुरुङ ‘टिओबीको दलाल’ भन्दै उत्तेजक नारा लगाएका थिए । ‘यो प्रहरी संसद भवन र सिंहदरबार जलाइँदा कहाँ थियो ?’ भन्दै उनले आक्रोश पोखे ।

प्रहरीसँग घम्साघम्सीका क्रममा दुर्गा प्रसाईँका एक कार्यकर्ता पक्राउ परेका छन् । नागरिक बचाउ महाअभियानका बाग्मती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो अभियानका नेता माधव खतिवडाले एक जना व्यक्तिसँग सिंगो राज्य डराएको भन्दै आलोचना गरेका छन् ।
उनले नेपाल प्रेससँग भने, ‘उहाँको अभिव्यक्ति स्वतन्त्रता खोसेर प्रहरीले दमन गरेको छ । एक व्यक्तिमाथि राज्यको यस्तो व्यवहार लाजमर्दो हो ।’
काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले दुर्गा प्रसाईँलाई पक्राउ गरिएको नभई एयरपोर्टबाट सुरक्षित घर पठाइएको बताए ।