काठमाडौं । नेपालमै इन्जिनियरिङ्ग गरिएको पहिलो फुल–स्ट्याक इलेक्ट्रिक स्कुटर; स्थानीय सडकअनुकूल कार्यक्षमता, स्मार्ट कनेक्टिभिटी र आफू अनुकूल ब्याट्री विकल्प सहित सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पीटूको मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
योसँगै नेपालमै इन्जिनियरिङ्ग तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ । नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पीटू केवल शहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको स्कुटर होइन ।

उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीका यात्रासम्मलाई ध्यानमा राख्दै पीटूमा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ ।
पीटूको सुरुवाती मूल्य रु. ३ लाख २९ हजार ९०० रहेको छ । ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ्ग तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्पहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्नेछन् ।

पीटूको मुख्य विशेषतामध्ये पीएमएसएम मिड–ड्राइभ मोटर एक हो, जसलाई विभिन्न सडक तथा ड्राइभिङ्ग अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता दिन सक्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यसले पांग्रामा ३१५ टर्क उत्पादन गर्छ । साथै, एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ ।


पीटूमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ, जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्छ । डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्छ ।
पीटूमा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्प उपलब्ध छन् । थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिन्छ ।
पीटूमा इन्स्टल्ड अनबोर्ड चार्जर रहेको छ, जसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकिरहनु पर्दैन । ब्याट्रीको कन्फिगरेसन अनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिन्छ ।
लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा पीटूले डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । तोकिएका चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिन्छ । शहरबाहिर यात्रा गर्ने पीटू प्रयोगकर्तालाई समेत सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ्ग नेटवर्क विस्तार गर्दैछ ।