गोरखा । हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ ।
भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गएराति हिउँ पहिरोमा पुरिएर मृत्यु भएको हो ।
सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।
तेस्रो शिविरमा टेण्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव सोमबार हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भएको छ ।