काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुषालसँग भेटगरी हालै रसुवा बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
उक्त छलफलमा नाडाका अध्यक्ष उप्रेतीले भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भीषण बाढीका कारण दशैँको सिजनलाई ध्यानमा राखी सयौँको संख्यामा चीनबाट आयातित सवारी साधनहरू मध्ये धेरै रसुवा नाकाबाट बाढीले बगाएको बताए । पीडित पैठारीकर्ताहरूले सरकारकातर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटो भन्दा छिटो कार्यान्वयन गर्न उनले आग्रह गरे ।
छलफलको सिलसिलामा नाडाका महासचिव मिलनबाबु मल्लले चीनको सीमा क्षेत्रमा पाँच सय भन्दा बढी सवारी साधनहरू रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गरे । त्यसैगरी उनले अहिलेसम्म ११ सिटे विद्युतीय माइक्रोवसहरु नछुटेको जानकारी दिँदै यसका लागि समेत पहल गरिदिन अनुरोध गरे ।
महानिर्देशक भुषालले पीडित व्यवसायीहरूलाई प्रदान गरिने सहुलियतबारे अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति र विक्रम सिंघानिया, सचिव मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो।