काठमाडौं । इन्द्रजात्राको अवसरमा उद्योग वाणिज्य संघ काठमाडौंले सुरक्षा तथा व्यवस्थापनमा खटिने प्रहरी, सेना तथा स्वयंसेवकहरूलाई पानी तथा खाजा वितरण गर्ने भएको छ।
संघका अध्यक्ष रामनाथ श्रेष्ठका अनुसार इन्द्रजात्रा काठमाडौंको सबैभन्दा ठूलो तथा महत्वपूर्ण पर्वमध्ये एक भएकाले यसको व्यवस्थापन र सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी, सेना तथा स्वयंसेवक परिचालन हुने गर्छन्। उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै संघले पानी तथा खाजाको व्यवस्था गर्न लागेको उनले बताए।
अध्यक्ष श्रेष्ठले इन्द्रजात्राको सफल व्यवस्थापनमा सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूलाई सहयोग गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जानकारी दिए।
यसैगरी, संघले आगामी शनिबार, १० गते नेपाल उद्योग वाणिज्य महासंघ तथा काठमाडौंका व्यवसायीहरूका लागि विशेष नेवारी भोजको आयोजना गर्ने भएको छ। साथै, इन्द्रजात्राको सांस्कृतिक परम्पराअनुसार रथ तान्ने कार्यक्रममा समेत सहभागी हुने व्यवस्था गरिएको संघले जनाएको छ।
संघले इन्द्रजात्रालाई काठमाडौंको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिँदै यसको संरक्षण र प्रवद्र्धनमा निजी क्षेत्रको सहभागिता बढाउन विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ।
