काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन जारी छन् । हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको समितिले जनाएको छ ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतबाट जानकारी प्राप्त भएको समितिले जनाएको छ । आगामी केही दिन वर्षा जारी रहने र मौसम विभागलगायत निकायले सतर्क रहन सूचना जारी गरेको अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको हो ।
समितिले मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० मै तोकिएको निर्वाचन कार्यक्रम सञ्चालन गर्न र मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।