काठमाडौं । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृती ढकालले संयुक्त राष्ट्रसंघको महासभा तथा जलवायु सप्ताहका अवसरमा अमेरिकाको न्युयोर्कमा आयोजित उच्चस्तरीय कार्यक्रममा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम, मानवीय सुरक्षा तथा प्रभावित समुदायसम्म प्रभावकारी सहयोग पुर्याउने विषयमा आफ्नो धारणा राखेकी छन्।
जलवायु परिवर्तनसँग अनुकूलनसम्बन्धी ‘बदलिँदो जलवायु वास्तविकतासँग अनुकूलन : बढ्दो प्रभावले किन नयाँ प्रतिकार्य माग गर्छ ?’ विषयक उक्त कार्यक्रममा ढकाल तेस्रो छलफल सत्रमा सहभागी भएकी हुन्।
‘मानवीय सुरक्षा र कल्याणका लागि नयाँ प्रतिकार्य कार्यान्वयन’ विषयक छलफलमा ढकालसँगै सिएरा लियोनको राजधानी फ्रीटाउनकी नगरप्रमुख योभोन आकी–सवेर, प्रोक्सिमेट कोषका खालिद अली, अन्तर्राष्ट्रिय प्रसूति सेवाकर्मी महासंघकी अन्ना अफ उग्लास र अनुकूलन कोषका मिक्को ओलिकाइनेन सहभागी थिए। जलवायुसम्बन्धी समाचार संस्था क्लाइमेट होम न्युजकी मेगन रोलिङले छलफलको सहजीकरण गरेकी थिइन्।
ढकालले केही साताअघि नेपालमा आएको रसुवा–भोटेकोशी बाढीका क्रममा आफू काठमाडौंमा आयोजित आपत्कालीन बैठकमा सहभागी भएको प्रसंग उल्लेख गर्दै उक्त विपद्ले स्थानीय बासिन्दाको जीवन र जीविकोपार्जनमा पारेको प्रभावबारे धारणा राखेकी छन्।
उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो लगायतका विपद्को जोखिम बढ्दै गएको अवस्थामा प्रभावित समुदायलाई केन्द्रमा राखेर नयाँ र प्रभावकारी प्रतिकार्य आवश्यक रहेको बताएकी छन्।

विपद्पछि उपलब्ध हुने राहत तथा सहयोग वास्तविक जोखिममा रहेका समुदायसम्म समयमै र प्रभावकारी रूपमा पुग्नुपर्नेमा पनि उनले जोड दिएकी छन्। जलवायुजन्य विपद्बाट प्रभावित समुदायको आवश्यकता बुझेर त्यसअनुसार स्रोत, सहयोग र प्रतिकार्यको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

नेपालमा पछिल्लो समय देखिएका जलवायुजन्य विपद् र त्यसले समुदायमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै ढकालले विपद्को जोखिममा रहेका समुदायको सुरक्षा र कल्याणलाई जलवायु अनुकूलनका प्रयासको केन्द्रमा राख्नुपर्ने धारणा राखेकी हुन्।

कार्यक्रम न्युयोर्क समयअनुसार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको थियो। ढकाल सहभागी छलफल सत्र बिहान ९ः१५ देखि ९ः४५ बजेसम्म सञ्चालन भएको थियो। नेपाल समयअनुसार उक्त छलफल साँझ ७ बजेदेखि ७ः३० बजेसम्म भएको थियो।