काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका पश्चिमी भूभागमा वर्षाको जोखिम अझै उच्च रहने जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।
शनिबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पूर्वी नेपालमा वर्षाको गतिविधि क्रमश: कमजोर हुँदै गएको छ। कोशीदेखि काठमाडौं आसपाससम्मका क्षेत्रमा बुधबारदेखि जारी वर्षा शनिबार तुलनात्मक रूपमा कम हुने देखिएको छ।
काठमाडौं उपत्यकामा भने मौसम पूर्ण रूपमा सफा नहुने र वर्षा आउने–जाने क्रम जारी रहनसक्ने पूर्वानुमान गरिएको छ। दिउँसो केही समय बादल फाटेर घाम लाग्नसक्ने भए पनि साँझ वा रातितिर पुन: वर्षा हुनसक्नेछ। तर काठमाडौंमा भारी वर्षाको सम्भावना कम रहेको मौसमविद्हरूले बताएका छन्।

पश्चिम नेपालमा भने शनिबार बिहानसम्म वर्षाको गतिविधि जारी रहनेछ। त्यसपछि दिउँसो वा साँझदेखि पश्चिमी भूभागमा समेत मौसम क्रमश: सुधार हुँदै जाने पूर्वानुमान छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमतर्फ शनिबार बिहानसम्म वर्षाको सम्भावना रहे पनि त्यसपछि ठूलो पानी पर्ने क्रम घट्दै जानेछ।

२५ जिल्ला रातो जोखिममा, २९ जिल्ला सुन्तला क्षेत्रमा
लगातारको वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारका लागि देशका ७७ जिल्लालाई जोखिमका आधारमा तीन तहमा विभाजन गरेको छ।
पछिल्लो विवरणअनुसार २५ जिल्ला रातो, २९ जिल्ला सुन्तला र २३ जिल्ला पहेँलो जोखिम क्षेत्रमा राखिएका छन्।
रातो रंगले संकेत गरिएका २५ जिल्लामा वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधको जोखिम उच्च रहेकाले दिन र रात दुवै समयमा सवारीसाधन सञ्चालन बन्द गर्न सुझाव दिइएको छ।
सुन्तला रंगमा राखिएका २९ जिल्लामा रातको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न र दिउँसोको अवस्थामा जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले जोखिम मूल्यांकन गरेर निर्णय गर्न भनिएको छ। पहेँलो रंगमा रहेका २३ जिल्लालाई भने सम्भावित विपद्प्रति सतर्क रहन आग्रह गरिएको छ।
यसको अर्थ सबै जिल्लामा वर्षाको मात्रा समान हुने भन्ने होइन। जोखिम वर्गीकरणमा वर्षाको सम्भावना, भूगोल, नदी तथा खोलाको अवस्था, पहिरोको सम्भावना र सडक तथा अन्य पूर्वाधारमा पर्नसक्ने असरलाई समेत आधार बनाइएको छ।
लगातार पानी परिरहेका क्षेत्रमा सडकमा पहिरो खस्ने, नदी तथा खोलामा पानीको बहाव अचानक बढ्ने, कमजोर भिरालो जमिनमा कटान हुने र ग्रामीण तथा पहाडी सडक अवरुद्ध हुने जोखिम बढी हुन्छ। त्यसैले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा मौसमसम्बन्धी आधिकारिक सूचनालाई आधार बनाउन आग्रह गरिएको छ।
पछिल्ला दिनमा पनि सरकारले विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्नसक्ने भन्दै जोखिमयुक्त जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आएको छ।
२४ घण्टामा पाल्पामा २४३ मिलिमिटर वर्षा
वर्षाको तीव्रता पछिल्लो २४ घण्टाको मापनबाट पनि देखिन्छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार अपराह्न साढे ३ बजेसम्म पाल्पाको अर्चले मापन केन्द्रमा २४३.४ मिलिमिटर वर्षा भएको छ। यो मापन अति भारी वर्षाको श्रेणीमा पर्छ। पाल्पाकै गण्डकोटमा १५२.२ मिलिमिटर वर्षा भएको छ।
यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। इलामको कन्याममा १०६.४, सोलुखुम्बुको सल्लेरीमा १०४.२, पेकरनासमा ११८.४, काभ्रेको पनौतीमा १३४.८ र रोशीमा ११२.६ मिलिमिटर वर्षा भएको छ।
सिन्धुपाल्चोकको बाहुनेपाटीमा १०५.२, चितवनको माढीमा ११३.२ र चर्छरेमा ११०.४ मिलिमिटर वर्षा मापन भएको छ। तनहुँको बन्दीपुरमा १०१.२, दमौलीमा १०५.८ र श्यामघामा १०२.२ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी पर्वतको पचासेमा १२२, कार्कीनेटामा १०३.८, स्याङ्जाको पञ्चमूलमा ११०.२ र चापाकोटमा १२५ मिलिमिटर वर्षा भएको छ। नवलपुरमा १०९.६ र देउराली नवलपुरमा १११.४ मिलिमिटर पानी परेको छ।
लुम्बिनी क्षेत्रमा अर्घाखाँचीमा १५७, सिमलपानीमा १३३.२ र सन्धिखर्कमा ११३.६ मिलिमिटर वर्षा भएको छ। गुल्मीको भर्सेमा १०९.६ र बागलुङको ताराखोलामा १००.८ मिलिमिटर वर्षा मापन भएको छ।
बाँकेको बैजापुरमा ११२, ढकेरीमा १२६.६, कोहलपुरमा ११७.६, नौवस्तामा १०६.२, खजुरामा १०१.४, बेलभारमा १११.२, नेपालगन्जमा १११.६ र भगवानपुरमा १०७.६ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमको वर्गीकरणअनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा पछिल्लो २४ घण्टामा भएको वर्षा अति भारी वर्षाको स्तरमा पुगेको हो।
पश्चिममा शनिबारसम्म किन वर्षा ?
हालको वर्षामा बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव मुख्य कारणमध्ये एक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारततर्फ प्रवेश गरेको उक्त प्रणाली डिप्रेसनको अवस्थासम्म विकसित भएपछि स्थलभागतर्फ सर्दै आएको थियो। पछिल्लो अवस्थामा प्रणाली भारतको छत्तीसगढ क्षेत्रमा पुगेको र उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमश: कमजोर हुने क्रममा रहेको छ।
भारतको मौसम विभागका अनुसार उक्त प्रणाली शुक्रबार साँझ छत्तीसगढको उत्तरतर्फ पुगेको थियो। शनिबार दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ सर्दै जाँदा प्रणाली क्रमश: कमजोर भएर न्यूनचापीय क्षेत्रमा परिणत हुने अनुमान गरिएको छ।
नेपालमा पनि यही प्रणालीको प्रभाव क्रमश: घट्दै जाने भएकाले पश्चिमी भूभागमा शनिबारपछि वर्षाको गतिविधि कमजोर हुने अपेक्षा गरिएको हो।
पूर्वी क्षेत्रमा भने यसको प्रभाव पहिले नै कम हुन थालेको छ। बुधबारदेखि लगातार परेको वर्षापछि शुक्रबार रातिदेखि कोशी र आसपासका भूभागमा वर्षाको मात्रा घटेको मौसमविद्हरूले बताएका छन्। धेरै स्थानमा बादल लागे पनि निरन्तर ठूलो पानी पर्ने अवस्था कम हुँदै गएको छ।
काठमाडौंमा पानी पर्ने तर ठूलो वर्षाको सम्भावना कम
काठमाडौं उपत्यकाको मौसम शनिबार परिवर्तनशील रहने देखिएको छ। बिहान केही स्थानमा घाम देखिए पनि दिनभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन। दिउँसो केही समय घाम लाग्ने, त्यसपछि बादल लाग्ने र साँझ वा रातितिर पुन: पानी पर्ने अवस्था आउनसक्नेछ।
तर काठमाडौंमा शनिबार भारी वा अति भारी वर्षाको सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन्। यसले केही दिनदेखि वर्षाका कारण प्रभावित काठमाडौं उपत्यकामा क्रमश: सहज अवस्था बन्ने संकेत गरेको छ।
यसको विपरीत पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा शनिबारसम्म वर्षाको जोखिम कायमै रहेकाले बाढी तथा पहिरोको जोखिम तत्कालै समाप्त नहुने देखिन्छ।
सोमबारदेखि वर्षाको गतिविधि घट्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारपछि पश्चिमी भूभागमा समेत वर्षाको गतिविधि क्रमश: कमजोर हुँदै जानेछ। सोमबारदेखि देशभर वर्षाको गतिविधि कम हुँदै जाने र असोज १३ गतेदेखि मौसम तुलनात्मक रूपमा सफा हुने अनुमान गरिएको छ।
तर लगातार केही दिनदेखि भएको ठूलो वर्षाका कारण जमिन कमजोर भइसकेको अवस्थामा वर्षा कम हुँदै गए पनि पहिरो तथा नदीको बहावको जोखिम तत्काल समाप्त हुँदैन। विशेषगरी पहाडी तथा चुरे क्षेत्रमा भिजेको जमिनबाट पहिरो खस्ने र साना खोलानालामा आकस्मिक बाढी आउनसक्ने भएकाले मौसम सुधार हुन थालेपछि पनि जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुपर्ने अवस्था छ।
पछिल्ला दिनमा लगातारको वर्षाले देशका विभिन्न सडक, पुल तथा बस्तीमा असर पारेको अवस्थामा शनिबार पश्चिम क्षेत्रमा थप वर्षा हुने पूर्वानुमानले जोखिम थप लम्बिनसक्ने देखिएको छ।
त्यसैले रातो र सुन्तला जोखिम क्षेत्रमा प्रशासनले गरेको सवारी आवागमनसम्बन्धी निर्णय पालना गर्नु तथा नदी, खोला, पहिरोको जोखिम भएका क्षेत्रबाट अनावश्यक आवतजावत नगर्नु आवश्यक देखिएको छ। देशका ७७ जिल्लालाई जोखिमका तीन तहमा वर्गीकरण गरी यात्रा तथा सतर्कतासम्बन्धी व्यवस्था मिलाइएको प्राधिकरणको पछिल्लो विवरणले पनि शनिबारको जोखिम मुख्यत: पश्चिमी भूभागमा केन्द्रित रहने संकेत गरेको छ।