काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीप्रति आपत्ति जनाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीको विषयलाई लिएर सरकारी अधिकारीहरूबाटै सार्वजनिक भइरहेका परस्पर विरोधी भनाइहरूलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता चालिसेले उल्लेख गरेका छन् ।
चालिसेले विज्ञप्तिमा लेखेका छन्– ‘सरकारी अधिकारीहरूबाटै आइरहेका विरोधाभासपूर्ण अभिव्यक्तिहरूले यो गिरफ्तारीको कानुनी आधार र औचित्यमाथि नै प्रश्न उठाएका छन्। यदि गिरफ्तारी कानुनसम्मत र आवश्यक थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नु पर्दछ।’
कांग्रेसले अपराध अनुसन्धान र कानुन कार्यान्वयनको प्रक्रियामा आफू बाधक नभएको स्पष्ट पारेको छ। तर, कानुन कार्यान्वयनको आडमा देखाइएको अस्पष्ट र अन्योलपूर्ण प्रक्रियालाई कांग्रेसले अस्वीकार गरेको छ। विज्ञप्तिमा लेखिएको छ– ‘कानुनको शासन भनेको राज्यले कानुन प्रयोग गर्नु मात्र होइन, राज्यका सबै निकायहरू स्वयं संविधान र कानुनको सीमाभित्र रहनु हो।’

कांग्रेसले अनुसन्धान निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएको छ। कसैले कानुन उल्लङ्घन गरेको खण्डमा प्रमाणका आधारमा कारबाही हुनुपर्ने र दोषी ठहरिए कानुनबमोजिम सजाय हुनुपर्ने पार्टीको अडान छ।

प्रवक्ता चालिसेले विज्ञप्तिमा लेखेका छन्– ‘गिरफ्तारी आफैँमा दोषको प्रमाण होइन। राज्यसँग शक्ति हुन्छ, तर उक्त शक्तिको प्रयोग अत्यन्त पारदर्शी, न्यायोचित र जबाफदेही हुनुपर्दछ।’

कांग्रेसले कानुन सबैका लागि समान छ भन्ने मान्यता व्यवहारमा नै स्थापित गर्नुपर्ने माग गरेको छ। यदि कुनै विशेष सुरक्षा चुनौती वा असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने राज्यले त्यसको विश्वसनीय आधार जनतासमक्ष प्रस्ट पार्नुपर्ने कांग्रेसको भनाइ छ।
संवैधानिक सर्वोच्चता र कानुनी शासनमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसले पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीलाई लिएर देखिएको अन्योल तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले गएराति पक्राउ गरेको थियो ।