काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै मध्यरातमा प्रहरी कार्यालय लगिएको विषयमा जेनजी अभियन्ता रक्षा बमले प्रश्न उठाएकी छन् । बमले सामाजिक सञ्जाल फेसबुकमार्फत जबरालाई पक्राउ पुर्जीबिनै मध्यरातमा लगिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।
‘दुईतिहाइको सुरक्षा दिने तरिका पनि गज्जबकै रहेछ,’ उनले लेखेकी छन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ भयो भनेर मध्यरातमा पक्राउ पुर्जीबिनै लगिएको रहेछ ।’
उनले ‘जेनजी’लाई सुरक्षा खतराका रूपमा प्रस्तुत गरिएको विषयमा समेत प्रश्न उठाएकी छन् । ‘यो जेनजी भनेको को हो हजुर ? कुनै आतंकवादी संगठन हो ? या भूमिगत सशस्त्र समूह हो ?’ उनले प्रश्न गरेकी छन् । बमले शक्तिको आडमा आफूखुसी पक्राउ गर्ने, आरोप लगाउने तथा कानूनी विधि र प्रक्रिया पालना नगर्ने प्रवृत्ति देखिएको आरोप लगाएकी छन् ।
यस्तो कार्यलाई ढाकछोप गर्न ‘जेनजी’ शब्द प्रयोग गरिएको हो कि भन्ने प्रश्नसमेत उनले गरेकी छन् । ‘यदि ‘जेनजी’ कुनै संगठित सुरक्षा खतरा हो भने त्यसको प्रमाण कहाँ छ?’ उनले लेखेकी छन्, ‘र, यदि छैन भने, यो सरासर दुईतिहाइको शक्तिको डर देखाएर पक्राउ गरेको हो, अरू केही होइन ।’

उनले जबरालाई मध्यरातमा पक्राउ गर्नुको पछाडि राजनीतिक दाउपेच हुनसक्ने आशंकासमेत व्यक्त गरेकी छन् । ‘आफ्नो राजनीतिक दाउपेच मिलाउन नसकेर मध्यरातमा कसैलाई पक्राउ गर्ने, अनि नामचाहिँ जेनजी,’ उनले लेखेकी छन् ।



बमले सुरक्षा निकायको प्रयोगलाई लिएर पनि सरकारमाथि प्रश्न उठाएकी छन् । उनले सरकारमाथि सुरक्षा निकायको दुरुपयोग गरिरहेको आरोप लगाउँदै त्यसलाई ‘नगर प्रहरी चलाए जसरी चलाउने’ सोच हो कि भनेर प्रश्न गरेकी छन् ।
पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा लगेको थियो । आइतबार दिउँसो उनलाई घर फिर्ता पठाइएको छ ।