काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि श्रीलंकाको स्थायी नियोगमा श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिता हेराथसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई श्रीलंका सरकार र जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता तथा उपलब्ध गराएको आर्थिक र मानवीय सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
दुवै मन्त्रीले नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गरे । उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठक नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल र जनस्तरको सम्बन्धलगायत आपसी हितका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।