काठमाडौं । चीनले दिएका दुई पाण्डा पिङ पिङ र फु श्वाङ अमेरिकाको एटलान्टास्थित चिडियाखाना एटलान्टा पुगेका छन् । उनीहरू १० वर्ष त्यहाँ रहने बताइएको छ । पाण्डालाई स्वागत गर्न उत्सुक दर्शक चिडियाखानामा भेला भएका थिए ।
पाण्डा बोकेको फेडएक्सको चार्टर्ड कार्गो विमान आइतबार बिहान एटलान्टा अवतरण गरेको थियो । चीन वन्यजन्तु संरक्षण संघ र चिडियाखाना एटलान्टाबीच गत वर्ष विशाल पाण्डा संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य गर्ने सम्झौता भएपछि उनीहरूलाई अमेरिका ल्याइएको हो ।
चिनियाँ पक्षका अनुसार दुवै देशका पशु चिकित्सक र हेरचाहकर्ताले संयुक्त रूपमा पाण्डाको स्वास्थ्य परीक्षण गरेका थिए । उनीहरूको स्वास्थ्य राम्रो रहेको पुष्टि भएपछि पिङ पिङ र फु श्वाङलाई करिब एक महिनाको नियमित क्वारेन्टिनमा राखिएको छ । ग्रान्ट पार्कमा रहेको चिडियाखानाभित्र ‘पिङ पिङ र फु श्वाङको भावी घर’ लेखिएको ब्यानर राखिएको छ । नजिकैको एक पसलले चिनियाँ र अंग्रेजी भाषामा स्वागत सन्देश लेखेर पाण्डालाई स्वागत गरेको सीएनएनले जनाएको छ ।
एटलान्टा चिडियाखाना पछिल्लो आधा शताब्दीमा अमेरिकामा पाण्डा राख्ने केही संस्थामध्ये एक हो । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले बेइजिङ भ्रमण गरेपछि सुरु भएको पाण्डा आदानप्रदानको परम्परालाई यसले निरन्तरता दिएको छ । पाण्डा फर्कने योजना सार्वजनिक भएपछि चिडियाखानाका प्रमुख कार्यकारी रेमन्ड बी. किङले विशाल पाण्डाबाट प्राप्त हुने आश्चर्य र आनन्दको चर्चा गर्दै उनीहरूको हेरचाहको जिम्मेवारी फेरि पाएकोमा खुसी र सम्मानित महसुस गरेको बताएका थिए ।

सन् २०२४ मा चिडियाखानामा रहेका चार पाण्डालाई चीन फर्काइएको थियो । चीनले अमेरिकासहित विभिन्न देशसँग विशाल पाण्डा संरक्षण र अनुसन्धानमा सहकार्य गर्दै आएको छ । अमेरिकामा पाण्डा राख्ने सान डिएगो, वासिङ्टन, एटलान्टा र मेम्फिसका चिडियाखानासँग चीनले दीर्घकालीन सहकार्य सम्झौता गरेको छ । राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका अनुसार अमेरिकामा रहेका पाण्डाबाट हालसम्म १७ वटा शावक जन्मिएर बाँचेका छन् ।
