काठमाडौं । अविरल वर्षापछि गएको आइतवार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न शुरू गरिएको छ ।
नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
‘धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्स्काभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको छ’, उहाँले भन्नुभयो, ‘ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।’
उहाँका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन् ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सकिएमा स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिनुभयो । ‘विस्फोट गराइ चट्टान फुटाउँदा मस्र्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ’, उहाँले भन्नुभयो, ‘एक्स्काभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्याउनेछ ।’

लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहितको ठूला ढुङ्गाले मस्र्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएको छ ।

ङिस्याङ गाउँपालिका–४ हुम्देको बाढी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ । सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजना विद्युत् गृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरुद्ध छ ।
यसअघि २०७८ सालमा घट्टेखोला, ठाडो खोला र मस्र्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।