काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्।
शुक्रबार राजधानीमा विशेष कार्यक्रमबीच विमोचन गरिएको ‘युके शहर’ अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक श्रोतामाझ पुगेको छ।
रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको ‘युके शहर’लाई रियाले आफ्नो सांगीतिक यात्राको नयाँ अध्यायका रूपमा लिएकी छन्। लामो मेहनत, संघर्ष र तयारीपछि तयार गरिएको यो प्रस्तुति नेपालमा रहेका दर्शकसँगै विदेशमा रहेका नेपाली समुदायलाई समेत लक्षित गरेर निर्माण गरिएको उनले बताएकी छन्।
‘युके शहर’ मेरो लागि एउटा गीत मात्र होइन, मेरो सांगीतिक यात्राको एउटा सुन्दर सपना पनि हो,” रियाले भनिन्, “धेरै मेहनत र उत्साहका साथ तयार गरेको यो प्रस्तुतिलाई नेपाल र विदेशमा रहनुभएका नेपाली दर्शक श्रोताले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ।”
करिब तीन वर्षको सांगीतिक यात्रामा रियाले आफ्नै तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छन, दर्जनौँ गीतमा स्वर दिएकी छन भने दर्जनौ लाईभ दोहोरी गाईसकेकी छन ।

गायनसँगै मोडलिङमा समेत सक्रिय उनले विभिन्न म्युजिक भिडियो तथा सांगीतिक प्रस्तुतिमा अभिनय गरेकी छन्। छोटो समयमै निरन्तर सिर्जना र प्रस्तुतिमार्फत दर्शकसँग जोडिँदै आएकी रियाले डिजिटल प्लेटफर्मलाई पनि आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण माध्यम बनाएकी छन ।

गायिका रिया खत्रीको ‘युके शहर’ को युट्युब लिङ्क

रियाको सांगीतिक यात्रा नेपालमा मात्र सीमित छैन। उनले देशका विभिन्न जिल्लामा प्रस्तुति दिनुका साथै विदेशमा रहेका नेपाली समुदायमाझ पनि सांगीतिक प्रस्तुति दिइसकेकी छन्।
उनले मलेसिया, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र भारतलगायतका एक दर्जन देशमा प्रस्तुति दिईसकेकी छन्।
विदेशमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष जोडिँदा नेपाली गीत,संगीतप्रतिको उनीहरूको माया र अपनत्वलाई नजिकबाट अनुभव गरेको रियाले बताएकी छन्। यही अनुभवलाई ‘युके शहर’मार्फत थप व्यापक बनाउन खोजिएको उनको भनाइ छ।
नेपालबाहिर रहेका करिब ८० लाख नेपालीलाई समेत केन्द्रमा राखेर ‘युके शहर’ तयार गरिएको रियाले बताएकी छन्। संसारका जुनसुकै मुलुकमा रहे पनि नेपाली भाषा, संस्कृति र संगीतसँग जोडिएका नेपालीको मनसम्म आफ्नो सिर्जना पुर्याउने उनको उद्देश्य छ।
“नेपालबाहिर रहनुभएका नेपाली पनि मेरो सांगीतिक यात्राको महत्वपूर्ण हिस्सा हुनुहुन्छ,” उनले भनिन्, “उहाँहरूसँग नेपाली संगीतमार्फत जोडिन चाहन्छु। ‘युके शहर’ले सबैको मन छुने विश्वास लिएकी छु।”
‘युके शहर’ सार्वजनिक गरेसँगै रियाले दर्शक श्रोतासँग भिडियो हेरेर प्रतिक्रिया दिन तथा मन परे साथीभाइ, परिवार र आफन्तसम्म पुर्याइदिन आग्रह गरेकी छन्। उनका लागि एउटा भ्यु, लाइक, कमेन्ट र सेयर केवल सामाजिक सञ्जालको प्रतिक्रिया नभई आगामी सांगीतिक यात्राका लागि ठूलो हौसला हो।
“एकपटक समय निकालेर ‘युके शहर’ हेर्नुहोस्, गीत सुन्नुहोस् र तपाईंलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस । मन परे सेयर गरेर अझ धेरै नेपाली मनसम्म पुर्याइदिनुहोस्,” रियाले आग्रह गरेकी छन ।
‘युके शहर’अहिले रिया खत्री युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ। उनले च्यानल सब्स्क्राइब गरी आगामी सांगीतिक यात्रामा थप साथ दिनसमेत दर्शक,श्रोतासँग अनुरोध गरेकी छन्।
नेपालदेखि विदेशसम्म आफ्नो सांगीतिक यात्रा विस्तार गरिरहेकी रियाका लागि ‘युके शहर’ नयाँ गीत मात्र नभई अहिलेसम्मको मेहनत, संघर्ष र दर्शकको मायालाई अझ फराकिलो बनाउने प्रयासका रुपमा लिईएको छ ।