काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनका विषयमा दिएको पत्रलाई अभिलेखमा राख्न प्रमुख निर्वाचन आयुक्तले तोकादेश दिएका छन्।
देउवाले पक्षले आजदेखि महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। आज देशभरका वडामा वडा अधिवेशन सुरु भएको छ।
वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिकाबारे देउवाले निर्वाचन आयोगलाई ‘जानकारी तथा अभिलेखीकरण सम्बन्धमा’ भनेर पत्र पठाएका थिए। देउवाले कांग्रेस सभापति भनेरै पत्र पठाएका थिए।
उनले असोज १३ गते निर्वाचन आयोगमा पत्र दर्ता गराएका थिए। त्यसमा आयोगको कानुन तथा राजनीतिक दल महाशाखाले टिप्पणी उठाएको थियो।
त्यसलाई प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अभिलेखमा राख्न तोकादेश दिएका हुन्। कार्कीले ‘फायल खडा गरी अभिलेखमा राख्नु’ भनेर तोकादेश दिएका छन्।


