काठमाडौं । नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ।
भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका थिए। पोथी हात्तीले मृत बच्चालाई सुँडमा बोकेर हिँडिरहेको थियो। कहिलेकाहीँ बच्चालाई भुइँमा राखेर खानेकुरा खाने वा पानी पिउने गरे पनि उसले फेरि बच्चालाई उठाएर आफ्नो यात्रा जारी राखेको थियो।
सुरुमा उक्त दृश्यलाई आफ्नै सन्तान गुमाएकी आमाको शोकका रूपमा हेरिएको थियो। तर,पछि अनुसन्धानका क्रममा ती हात्ती मृत बच्चाकी आमा नभएको खुलेको बीबीसीमा समाचार छ।

नामिबियाका मरुभूमि हात्तीको संरक्षणमा काम गर्ने संस्था एलिफ्यान्ट ह्युमन रिलेसन एड (ईएचआरए)का संरक्षण कार्यक्रम निर्देशक क्रिस्टिन विन्टरका अनुसार १४ वर्षीया उक्त पोथी हात्तीले दुई वर्षअघि आफ्नै बच्चा गुमाएकी थिइन्। त्यसयता उनले अन्य हात्तीका मृत बच्चालाई अलग/अलग ठाउँमा बोकेर हिँडेको अभिलेख गरिएको छ। यस क्षेत्रमा यस्तो व्यवहार पहिलोपटक अभिलेख गरिएको विन्टरको भनाइ छ।

हात्तीले मृत बच्चालाई लामो समयसम्म बोकेर हिँड्नुको कारणबारे विभिन्न अनुमान गरिएका छन्। संरक्षणकर्मीहरूका अनुसार यो व्यवहार बच्चाको मृत्यु स्वीकार गर्न नसकेको अवस्था,भावनात्मक पीडा वा मृत शरीरलाई सिकारीबाट जोगाउने प्रयाससँग सम्बन्धित हुन सक्छ। यद्यपि,यसको वास्तविक कारण भने स्पष्ट भइसकेको छैन।

अफ्रिकी सवाना हात्तीकी विशेषज्ञ तथा संरक्षण संस्था एलिफ्यान्ट भ्वाइसेजकी संस्थापक जोयस पूलले पनि हात्तीले आफ्ना सन्तान वा अन्य हात्तीको मृत्युमा शोक व्यक्त गर्ने व्यवहार देखाउने बताएकी छन्। उनका अनुसार हात्तीहरू मृत हात्तीका अवशेष नजिक जाने,हड्डी छुने र लामो समयसम्म त्यहाँ उभिने गरेको देखिएको छ। यस्ता दृश्यले हात्तीमा पनि जटिल भावना र शोक अनुभव गर्ने क्षमता रहेको बुझ्न मद्दत गर्ने उनको भनाइ छ।

घट्दै छन् मरुभूमिका हात्ती
नामिबियाका मरुभूमि हात्तीको सङ्ख्या पछिल्ला दुई दशकदेखि निरन्तर घटिरहेको संरक्षणकर्मीहरूले बताएका छन्। लामो समयसम्मको खडेरी,पानीको अभाव र मानिससँग बढ्दो द्वन्द्व उनीहरूको सङ्ख्या घट्नुका प्रमुख कारण हुन्।
संरक्षणकर्मी विन्टरका अनुसार हात्ती र मानिसबीचको द्वन्द्व प्राय: पानीका स्रोतलाई लिएर हुने गरेको छ। हात्तीले पानीका ट्याङ्की भत्काउने, पाइप तान्ने र पम्पमा क्षति पुर्याउने गरेपछि स्थानीय बासिन्दामा हात्तीप्रति असन्तुष्टि बढ्ने गरेको छ।
नवजात बाछाको उच्च मृत्युदर पनि गम्भीर चिन्ताको विषय बनेको छ। विन्टरका अनुसार सन् २०१४ देखि २०२२ सम्म अभिलेख गरिएका १६ बच्चामध्ये दुईवटा मात्रै बाँचेका थिए। मृत जन्मिएका बच्चा सामान्य स्वस्थ बच्चाभन्दा निकै साना हुने गरेको पनि उनले बताएकी छन्।
बाछा समयअगावै जन्मिनुमा पोथी हात्तीको कमजोर शारीरिक अवस्था र मानिससँगको द्वन्द्वका कारण उत्पन्न दीर्घकालीन तनावको भूमिका हुन सक्ने अनुमान गरिएको छ। यसबारे थप तथ्य पत्ता लगाउन संरक्षणकर्मी तथा अनुसन्धानकर्ताहरूले हात्तीको गोबरका नमुना सङ्कलन गरी वातावरणीय प्रदूषण र तनावसँग सम्बन्धित हर्मोनको अध्ययन गरिरहेका छन्।
नामिबियाका मरुभूमि हात्ती छुट्टै प्रजाति नभई सुख्खा वातावरणमा अनुकूलित भएका अफ्रिकी हात्ती हुन्। उनीहरू पानी र खानाको खोजीमा लामो दूरीसम्म यात्रा गर्छन्। संरक्षणकर्मीहरूका अनुसार खडेरी र मानव–वन्यजन्तु द्वन्द्वका कारण यो जनसङ्ख्या थप जोखिममा परेको छ।
भेरोनेसीले खिचेको तस्बिरले हात्तीको दुर्लभ व्यवहारलाई अभिलेख गर्नुका साथै वन्यजन्तुको भावनात्मक जीवन र तिनको संरक्षणको आवश्यकतामाथि ध्यानाकर्षण गराएको छ। लन्डनस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयले आयोजना गर्ने ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ प्रतियोगितामा उक्त तस्बिरले सन् २०२६ को सर्वोच्च पुरस्कार जितेको हो।