काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका होटल, रेस्टुरेन्ट र खाजाघरलाई अनिवार्य रूपमा मूल्यसूची राख्न र ग्राहकलाई बिल उपलब्ध गराउन निर्देशन दिएको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै खाद्य स्वच्छता, गुणस्तर र उपभोक्ता हित संरक्षणमा ध्यान दिन व्यवसायीलाई आग्रह गरेको हो। उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोलाई ध्यानमा राख्दै विभागले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना, खाजा तथा पेय पदार्थ बिक्री गर्न निर्देशन दिएको जनाएको छ ।
निर्देशनअनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी अनिवार्य रूपमा बिल वा बिजक दिनुपर्नेछ ।
त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण र बिक्री-वितरणमा स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालयमा सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न पनि विभागले निर्देशन दिएको छ ।

विभागले उपभोक्तालाई पारदर्शी, मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरेको छ। अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
