चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी एक हजार २०० बढी जनशक्ति परिचालन गरिने छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार, चाडपर्वमा अपरिचित व्यक्तिहरूको चहलपहल बढी हुने हुँदा चोरी सिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । उनले भने, “अहिले संवेदनशील क्षेत्रहरूमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।”
चोरी सिकारीका हिसाबले जोखिम रहेका क्षेत्रहरूमा स्पाई क्यामेरासहित क्याम्पिङ् एन्ड एम्बुसिङ् लगायतका कामहरू गरिने उनले जानकारी दिए ।
सूचना अधिकारी मगरका अनुसार, विगतमा हुने गरेका नियमित गस्तीसहित स्विपिङ्, पट्रोलीङ्, साइकल गस्ती, मोटरसाइकल गस्ती, बोट, गाडी र हात्तीबाट गस्ती गरिने छ । चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी सिकारीका बढी संवेदनशील मानिने गरिन्छ ।
संवेदनशील क्षेत्रहरूमा ‘लिंक पट्रोलीङ्’ लगायतका कामहरू भइरहेको छ । चुरे क्षेत्रमा समेत चोरी सिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।

निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र तीन अस्थायी पोष्टहरूबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझै चुस्त बनाउँदै स्थानीय संगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ । शंकास्पद स्थानहरूमा तालिम प्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ । आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग समेत समन्वय गरेर निकुन्ज क्षेत्रमा रहेका बस्तीहरूमा समेत तदारुपता बढाइएको उनले जानकारी दिए । रासस
