काठमाडौं । दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बलले काठमाण्डौ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहजताका लागि २ वटा बस नि:शुल्क रूपमा सञ्चालन गरेको जनाएको छ । दशैँमा काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातका साधन न्यून रूपमा चल्ने भएकाले आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ नि:शुल्क २ वटा बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
नि:शुल्क बस सेवा आजदेखि लगातार ३ दिन अर्थात् दशैँको टीकाका दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई सेवा दिनेछ ।
त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क, हुँदै विभिन्न ठाउँका यात्रुलाई नि:शुल्क सेवा प्रदान गर्नेछ ।