काठमाडौं । आईसीसी विश्व क्रिकेट ’लिग टु’को वर्तमान साइकलअन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेलमा रोहित पौडेलले पनि अर्धशतक प्रहार गरेका छन् ।
यसअघि देव खनाल र दीपेन्द्र सिंह ऐरीले ५० रनको आँकडा पूरा गरेका थिए । रोहितले ५० रन पूरा गर्न ६१ बल खर्चिए ।
यसअघि दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्काको मद्तले ५० रनको आँकडा पूरा गरेका थिए ।घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर देव खनालले पनि ६० बलमा ३ चौका र १ छक्काको मद्दतले ५० रनको आँकडा पूरा गरेका थिए ।
खनाल ५७ रन बनाएर आउट भए । आसिफ शेख १३ बलमा ७ र इशान पाण्डे ६० बलमा २९ रन बनाएर आउट भएका थिए । यो समाचार तयार पार्दासम्म ४२ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर २०५ रन जोडेको छ ।
यो खेल जित्न सके नेपालले प्रतियोगिता छैटौं स्थानमा टुंग्याउने छ भने अन्यथा अंक तालिकामा माथि उक्लिन सक्ने छैन । आईसीसीले आधिकारिक रूपमा केही नभने पनि नेपालको यो खेललाई एकदिवसीय मान्यतासँग जोडेर समेत हेरिएको छ ।
