काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने भएको छ ।
कात्तिक ९ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगितामा डीआरएस प्रविधि प्रयोग गरिने एनपीएलले जनाएको छ।
एनपीएलले हिमालयको महान् उत्सव र खेलकुद प्रविधिको यो संगमले नेपाली क्रिकेटको भविष्य र गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ। डीआरएस प्रविधिले खेलमा हुनसक्ने अम्पायरिङ त्रुटि घटाउन र निर्णयलाई थप निष्पक्ष र पारदर्शी बनाउन सहयोग पुर्याउने क्यानको विश्वास छ। डीआरएसले अम्पायरको निर्णय चित्त नबुझेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ।
क्यानका सचिव पारस खड्काका अनुसार डीआरएस प्रविधि जडानका लागि लाग्ने खर्चको व्यवस्थापन क्यान र सहभागी आठ वटै फ्रेन्चाइजी टोलीले संयुक्त रूपमा बहन गर्ने छन्। एनपीएललाई आइसिसीबाट टी–२० लिगको औपचारिक मान्यता एवम् स्वीकृतिसमेत प्राप्त भएको छ।
मंसिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। विदेशी खेलाडीहरू अनुबन्ध भइएकाले एनपीएलमा थप आकर्षण बढेको छ।
