काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ।
हमलामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार बिहान गरिएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो।
यद्यपि मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण विज्ञप्तिमा खुलाइएको छैन।
साउदीको ऊर्जा मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई निसाना बनाएर प्रहार गरिएको ड्रोन हवाई प्रतिरक्षा प्रणालीले बिचमै रोकेको थियो। तर तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।
यद्यपि आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयको भनाइ छ।
