काठमाडौं । विश्वभरका करिब ७५ प्रतिशत वेबसाइटहरू सञ्चालनमा प्रयोग हुने प्रसिद्ध प्रोग्रामिङ ल्याङ्ग्वेज ‘पीएचपी’मा दशकौँ पुराना गम्भीर सुरक्षा कमजोरीहरू फेला परेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोगमा पत्ता लागेका यी त्रुटिहरूका कारण साइबर आक्रमणको उच्च जोखिम बढेपछि नेपालसहित युरोप र एसियाका विभिन्न देशहरूले आफ्ना सरकारी तथा मुख्य वेबसाइटहरू बन्द (अफलाइन) गरेका छन्।
संसारभरका वर्डप्रेस, ड्रुपल, जोम्ला र म्याजेन्टोजस्ता प्रमुख वेब प्लेटफर्महरू पीएचपीमै आधारित रहेकाले यो समस्याले इन्टरनेट जगतकै ठूलो हिस्सालाई सिधै असर पुर्याएको रोयटर्सले जनाएको छ ।
बेलायती राष्ट्रिय साइबर सुरक्षा केन्द्र र विभिन्न अन्तर्राष्ट्रिय सुरक्षा निकायहरूले पीएचपी प्रयोग भएका प्रणालीहरू तत्काल अपडेट गर्न वा साइटहरू अफलाइन राख्न आपत्कालीन चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय साइबर सुरक्षा त्रासको असर नेपालमा पनि प्रत्यक्ष रूपमा परेको छ। नेपालका अधिकांश सरकारी वेबसाइटहरू डाउन भएका छन्। प्रणाली सुरक्षित गर्न र महत्त्वपूर्ण डेटा जोगाउन पूर्वसावधानीस्वरूप सरकारी वेबसाइटहरूलाई अफलाइन गराइएको हो।

अनुसन्धानकर्ताहरूका अनुसार पीएचपीको मुख्य कोडमा यी गम्भीर त्रुटिहरू विगत २० वर्षदेखि लुकेर रहेका थिए। मानिसले खोजेर पत्ता लगाउन र प्रयोग गर्न निकै जटिल मानिएका यी कमजोरीहरूलाई एआई टुलहरूको सहयोगमा पहिचान गरिएको हो।

यसबाहेक विकिपिडिया र अनलाइन पुस्तकालय ‘इन्टरनेट आर्काइभ’ ले समेत केही समयका लागि आफ्ना प्रणालीहरू अफलाइन गराएका थिए।

अमेजनले सार्वजनिक रूपमा यो कमजोरी बाहिरिनुअघि नै आफ्नो परीक्षण प्रणालीमा आक्रमणको प्रयास भएको भेटिएको जनाएको छ। हाल पीएचपीका स्वयंसेवक विकासकर्ताहरूले नयाँ सुरक्षा अपडेट जारी गरिसकेका छन् र विश्वभरका सर्भर एड्मिनिस्ट्रेटरहरूलाई ढिलाइ नगरी तत्काल आफ्नो सफ्टवेयर अपडेट गर्न आग्रह गरिएको छ।