काठमाडौं । साउदी अरबको सायबह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दु:ख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएकोमा गहिरो दु:ख व्यक्त गरेको हो । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ ।
नेपालले विवादको समाधान संवाद, वार्ता र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा गर्नुपर्ने आफ्नो अडान दोहोर्याएको छ ।
बुधबार हुथी विद्रोहीले प्रहार गरेको ड्रोनका अवशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको थियो । मृतकको परिचय भने खुलाइएको छैन ।
