काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)आजदेखि डेढ महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ।
शनिबार दिउँसो अढाई बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको उद्घाटन गरिने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
‘हाम्रो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको पेरिसडाँडामा अभियानको उद्घाटन गर्नुहुनेछ,’ उनले नेपालखबरसँग भने, ‘अभियानको क्रममा देशका सबै वडा र गाउँगाउँसम्म हाम्रा कार्यक्रमहरू हुनेछन्।’
गत असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय पनि नेकपाले गरेको छ।

अभियानकै क्रममा पार्टीका विभिन्न समिति तथा जनवर्गीय संगठन तथा मोर्चाहरूको समायोजनको बाँकी काम पनि सक्ने तयारी नेकको छ।

अभियानकै क्रममा पार्टी सदस्यता नवीकरण तथा विस्तार, पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन हुने ज्वालाले बताए।

‘यो अभियानमा सरकारको गलत र जनविरोधी कामको भण्डाफोर हुनेछ,’ उनले भने, ‘जनताका जायज माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि दवाव दिने तयारी हाम्रो छ।’